
काठमाडौं । यसवर्ष २२ असारसम्म देशभर कूल ४१ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २२ असारसम्म ४१ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको हो ।
देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा ५ लाख ८० हजार ८८६ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । गत वर्ष २२ असारसम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो ।
प्रदेशगत तथ्यांक हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिममा ८२ दशमलवव ८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २३ असारसम्म सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।
यसैगरी, कर्णाली प्रदेशमा ७१ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५२ दशमलव १ प्रतिशत, गण्डकीमा ५५ दशमलव ६ प्रतिशत, बागमतीमा ५१ दशमलव ९ प्रतिशत, मधेशमा १३ दशमलव ६ प्रतिशत र कोसी प्रदेशमा २९ दशमलव ५ प्रतिशतमात्र धान रोपाइँ भएको छ ।
यस वर्ष सबैभन्दा कम मधेश प्रदेशमा रोपाइँ भएको छ । अघिल्लो वर्षको २३ असारसम्म मधेशमा २५ दशमलव ५ प्रतिशत रोपाइँ सकिएको थियो ।