२०८२ असार २२, आइतवार , ११:१०:०२ बजे

Sajhamanch
'

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित, मल अभाव कायमै

आइतवार, असार २२, २०८२

झापा । पर्याप्त वर्षा नहुँदा यसवर्ष झापामा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।

हल्दिबारी ६ का कृषक रतनकुमार भुलेलले गतवर्ष यतिबेला रोपाइँ गरिसकेको बताउनु भयो। अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको पनि उहाँले सुनाउनु भयो । डेढ बिघामा खेती गर्दै आएका उहाँले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुःखेसो गर्नुभयो। रोपाइँ नहुँदा बीउ पहेँलिएको छ ।

गतवर्ष यतिबेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गर्नु भएको छ। यसैबीच, झापामा गत वर्षझैँ यसवर्ष पनि मल अभाव भएको छ ।

कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनस भयो। झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिनुभयो।

झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।