
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सेवा निवृत्त शिक्षकसहित विभिन्न विधामा ६१ जनालाई सम्मान गरेको छ ।
शिवसताक्षी नगरपालिकाले शैक्षिक सम्मान गर्दै सेवा निवृत्त शिक्षक, दीर्घसेवी शिक्षक, २०८० सालमा कक्षा ८, एसईई र कक्षा १२ मा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सामुदायिक विद्यालयमा २५ वर्ष निरन्तर सेवामा रहेका २३ जना शिक्षकहरू तथा सेवा निवृत्त ११ जना शिक्षकहरूलाई सम्मान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै २०८० सालमा कक्षा ८, एसईई र १२ मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्र्थीहरूलाई नगद र सम्मान पत्र प्रदान गरिएको नगर शिक्षा अधिकृत छविलाल ढकालले जानकारी दिनुभयो ।
नगरपालिकाले १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगर, जिल्ला, प्रदेश र केन्द्रसम्म पुगेर पदक जित्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै शिवसताक्षी नगरपालिकाका प्रम्ुख मेगाहाङ्ग थोप्राले शिक्षाको गुणस्तर बृद्धि गर्न विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको अहम भूमिका रहने बताउनु भयो ।
नगरपालिकाले शिक्षा नीति लगायत आधारभूत कुराहरु व्यवस्थापन गर्ने र अन्य काम विद्यालयसँग जोडिएका व्यक्ति वा निकायहरुले गर्नसके प्रभावकारी हुने उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा सामुदायिक विद्यालयहरूमध्ये कक्षा ८ र एसईईमा उत्कृष्ट नतिजा ल्याउने बालसेवा आधारभूत विद्यालय र त्यसका प्रधानाध्यापक बेनुप्रसाद कार्की तथा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र त्यसका प्रधानाध्यापक गिरिराज सेर्मा सम्मानित हुनुभयो ।
१५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संस्थागततर्फ प्रथम हुने सेभेनसिज माध्यमिक विद्यालय र सामुदायिक तर्फ प्रथम स्थान हासिल गर्ने लालपानी माध्यमिक विद्यालयलाई सम्मान गरियो ।
विद्यालयलाई उत्कृष्ट बनाउन कार्य गर्ने महिला प्रधानाध्यापकका रूपमा श्रीजंग प्राथमिक विद्यालयका प्रधानाध्यापक अन्जुकुमारी गौलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्की, नेपाल शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की, सम्मानित शिक्षकहरुको तर्फबाट श्रीप्रसाद खरेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यपालिका सदस्य यसोदा बिमलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक कमल भट्टराई गर्नुभएको थियो ।