
काठमाडौ । नुवाकोटमा बाढीले बगाउँदा बेपत्ता भएकी महिला खोज्न तालिम प्राप्त कुकुर परिचालन गरेको छ।
ककनी गाउँपालिका-१ भसीबुको बिमचना खोलाले बगाएकी महिला खोज्न काठमाडौंबाट तालिम प्राप्त कुकुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
गएराति ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्। डिएसपी थापाका अनुसार बलम्बुमा रहेको पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखाबाट दुई वटा कुकुरसहित सात जनाको टोली ककनी पुगेको हो।
त्यस्तै कमलाको खोजी गर्न शुक्रबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल युएन तालिम शिक्षालय ककनी, नं. १९ गुल्म नुवाकोट र सुरक्षा वेश बञ्चरेडांडा बाट ६५ जनाको टोली खटिएको थियो।
गएराति बिमचन खोलाले तीन वटा गोठ पनि बगाएको थियो। गोठमा रहेका अशोक बलामी पनि घाइते भएका थिए। उनको उपचारका लागि काठमाडौं पठाइएको छ।