
काठमाडौं । डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा खहरे खोलाको लेदोले १२ वटा घरमा क्षति पुर्याएको छ । गएराति बस्तीभन्दा माथि रहेका तीन वटा खहरे खोलाबाट लेदो बगेर बस्तीमा पुगेको थियो ।
बस्तीमा ५० देखि ५३ वटा घर रहेका र एउटा विद्यालयसहित चार वटा घर तथा भवनमा पूर्णरूपमा र अरू आठ वटा घरमा सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकबहादुर खड्काका अनुसार मानवीय तथा पशुचौपायामा क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । मोटरबाटो खन्दा निस्किएको माटो र ढुङ्गासहितको लेदो बगेर बस्तीमा पसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्र रिवा गाउँमा खटिएको छ । उद्धार टोलीले स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र पुनर्स्थापनामा आवश्यक सहयोग गरिरहेको छ । रिवा गाउँ जिल्ला सदरमुकाम दुनै बजारबाट झन्डै ६ देखि ७ घण्टाको पैदल दूरीमा पर्छ ।