
काठमाडौं । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र जिल्ला हुम्ला अब गाडीबाटै जान पाइने भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना अब पूरा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
ओलीले हुम्ला अब टाढा छैन भन्ने पोष्टरसहित चाँडै सडक सञ्चालनमा आउने जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली स्पेनबाट फर्किएपछि हुम्लामा सडक सञ्जाल जोडिएको औपचारिक कार्यक्रममा सहभागी हुन जानेछन् ।
राष्ट्रिय सडक सञ्जालले नजोडिएको एक मात्र जिल्ला हुम्लामा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हुम्ला सदरमुकाम सिमकोटसम्म सडक जोडिन झन्डै १५० मिटरको छारेभिर फोडिएपछि अब काम अन्तिम चरणमा पुगेको हो ।
सदरमुकाम सिमकोटबाट चीन सीमास्थित हिल्सासम्मको ९५ किलोमिटर दूरीमा भने यसअघि नै यातायातका साधन सञ्चालनमा छन् ।