
कञ्जनपुर । गर्मी र वर्षातको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य बढ्नु र वर्षा चक्रको अनियमियतताले डेङ्गुको सङक्रमण बढ्दै गएको छ ।
जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमता बढ्दै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो । तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको उहाँको भनाइ छ ।
लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पुर्याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखापरेको छ । जोशीका अनुसार छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखापरेको छ । एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ ।
पानी जम्ने ठाउँ र प्लाष्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएकोले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।