
झापा । झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३को लागि अनुमानित ९५ करोड नौ लाख २१ हजार बराबरको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले विनियोजन गरेको उक्त बजेट, वार्षिक नीति तथा कार्यक्रम मंगलबार आयोजित नगर सभाको १७औं नियमित अधिवेशनमा नगरपालिकाकी उपप्रमुख एवम् बजेट तर्जुमा समितिकी संयोजक खड्गमाया पराजुलीले पेश गरेकी थिइन् ।
बजेटअन्तर्गत पूर्वाधार विकास सम्बन्धी आयोजनाहरूका लागि १४ करोड ११ लाख रुपैयाँ, वडास्तरिय कार्यक्रमका लागि नौ करोड ९० लाख रुपैयाँ, सामाजिक विकास सम्बन्धी कार्यक्रमहरूका लागि तीन करोड ५३ लाख रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ६० लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासन सम्बन्धी कार्यक्रमहरूका लागि एक करोड ५० लाख रुपैयाँ, वित्तीय व्यवस्थापनका लागि २५ लाख र प्रशासनिक खर्चका व्यवस्थापनका लागि १४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको सभामा पेश भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी विनियोजन गरिएको कार्यक्रमको स्रोत व्यवस्थापनको लागि नेपाल सरकारको वित्तीय समानीकरण अनुदान १६ करोड ८७ लाख रुपैयाँ, राजश्व बाँडफाँड बापत १३ करोड ९४ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ९५ लाख रुपैयाँ, विशेष अनुदान एक करोड एक लाख रुपैयाँ, समपूरक अनुदान तीन करोड १४ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
त्यस्तै कोशी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ५९ लाख १४ हजार रुपैयाँ, राजश्व बाँडफाँड बापत एक करोड ५४ लाख ९९ हजार रुपैयाँ, सशर्त अनुदान दुई करोड ४३ लाख २१ हजार रुपैयाँ र समपूरक अनुदान ६० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
यता नगरपालिकाको आन्तरिक कर तथा राजश्व सङ्कलनबाट आठ करोड रुपैयाँ, स्थानीय राजश्व बाँडफाँडबापत सात करोड ५० लाख रुपैयाँ, जनसहभागिता बापत दुई करोड ५० लाख रुपैयाँ तथा नगद मौज्दात तीन करोड ८७ हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
सभामा पेश गरिएको वार्षिक बजेट नीति तथा कार्यक्रमहरू तयार गर्ने क्रममा नगरपालिकाले विभिन्न विषयहरूलाई प्राथमिकता दिएको बताइएको छ । जसअनुसार समृद्धिका लागि आर्थिक तथा सामाजिक विकासमा जोड दिने, पूर्वाधार विकासका योजनाहरूलाई प्राथमिकिकरण गरी संघीय तथा प्रदेश सरकारको योजनामा समावेश गराउने, विगतमा निर्माण सुरु भएका पूरा हुन नसकेका योजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर सम्पन्न गराउने, विगतमा बनेका कानुनहरूको समीक्षा गर्ने र आवश्यक संशोधन गर्ने एवम् नगरपालिकाको लागि आवश्यक थप कानुनहरू निर्माण गर्ने रहेका छन् ।
त्यसैगरी अन्य प्राथमिकतामा उद्यमशीलतामैत्री शिक्षाको नीति अवलम्बन गर्ने, हात्ती प्रभावित राहत कार्यक्रमलाई निरुत्साहित गर्दै हात्ती प्रभावित बिमा कार्यक्रम प्रवर्द्धन गर्ने, सुपारी प्रवर्द्धन अन्तर्गत अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने तथा सुपारी क्षेत्र विस्तार गर्ने, दूध, मासु, सुपारी र बाँसजन्य व्यवसायलाई स्तरवृद्धी गरी उत्पादन, गुणस्तर तथा रोजगारी वृद्धि गर्ने, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्ने रहेका छन् । नगरपालिकाका प्रमुख एवम् सभाका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङका अनुसार उक्त अधिवेशनको अर्को बैठक यही असार १६ गते सञ्चालन हुने बताइएको छ ।