
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ।
आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गरेकी हुन् ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका बालबालिकाको लागि ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिइन् ।
बालबालिकालाई पोशाक वितरणले अभिभावकलाई राहत मिलेको अनुभव सुनाउँदै उनले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गरेकी छिन् ।
त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको पोशाकमा कक्षा कोठामा बसून्, पोशाक हुने र नहुने विद्यार्थीबीच भेदभाव नहोस्, र शिक्षण–सिकाइमा सुधार होस् भन्ने उद्देश्यले विगत ४ वर्षदेखि पोशाक वितरण गरिँदै आएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खानले नगरपालिकाले विद्यालय सञ्चालनमा वार्षिक सहयोग उपलब्ध गराउँदै आएको बताउँदै गएको वर्षदेखि एक जना बालशिक्षकको समेत व्यवस्था गरिएकोमा नगरपालिकाप्रति आभार व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य अफ्सर अहमदको अध्यक्षतामा सम्पन्न उक्त पोशाक वितरण कार्यक्रममा मुस्लिम धर्मगुरु मोहमद सज्जादले दुआ पढेका थिए ।
मदरसा तालिमुल कुरान धार्मिक विद्यालय हो । कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईको विशेष आतिथ्यता थियो ।
बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयहरूका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हरेक वर्ष पोशाक वितरण गर्दै आएको छ।
चालू आर्थिक वर्षमा १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालय गरी जम्मा २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोशाक वितरण गर्ने कार्य सञ्चालन भइरहेको जनाइएको छ।