२०८२ असार ६, शुक्रवार , १०:५९:४१ बजे

Sajhamanch
'

मनसुनजन्य विपतबाट नागरिक जोगाउन कोशी प्रदेश सरकार सक्रिय

शुक्रवार, असार ६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवीय कारणले नै मनसुनजन्य विपत्तको जोखिम बढिरहेको बताएका छन् ।

आज शुक्रबार विराटनगरमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक संरचना निर्माण गर्दा त्यसबाट आउने समस्यालाई ख्याल नगर्दाको परिणाम मनसुनजन्य विपत्तमा देखिने गरेको प्रष्ट पारेका हुन् ।

“विकास निर्माणका काम गर्दा वातावरणीय अध्ययनमा ध्यान नदिनु तथा जलवायु परिवर्तनलाई हामी आफैँले चुनौति दिईरहेकाले पनि पछिल्लो समयमा मनसुनजन्य विपतले प्राकृतिक क्षति, आर्थिक क्षति र मानवीय क्षति गरिरहेको छ”, मुख्यमन्त्री कार्कीको भनाई छ ।

उनले भने, “अझै पनि हामीले गम्भिर रुपमा विपतलाई लिन सकेनौ भने केही वर्षपछि मनसुनजन्य विपतबाट हुने क्षतिलाई रोक्ने सामार्थ्य हामीसँग हुँदैन ।”

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशभित्र विपत व्यवस्थापनको लागि गर्नुपर्ने सबै किसिमको तयारी गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशनसमेत दिएका थिए ।

मानवीय क्षति, भौतिक क्षति तथा आर्थिक क्षतिलाई रोक्नको लागि कसरी बढीभन्दा बढी सचेतना जगाउँन सकिन्छ त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

विपत पहिलो चुनौतिको रुपमा देखिएकोले विपत प्रतिकार्य संरचना खडा गरेर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले यसको नेतृत्व आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई गर्न आग्रह गरे । सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्न म प्रतिवद्धता व्यक्त गर्दछु ।

मानव जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने कुरामा प्रदेश सरकार गम्भिर रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कोशी प्रदेशले ५ वर्षे “प्रदेश विपत व्यवस्थापन रणनीति कार्ययोजना’’ बनाएर काम अघि बढाएको जानकारी दिए ।

उनले कोशी प्रदेशमा मनसुनजन्य विपतबाट जोखिममा रहेका र अति जोखिममा रहेका क्षेत्र छुट्याएर काम भइरहेको पनि जानकारी गराए ।

मन्त्री भण्डारीले भने, “अति जोखिममा रहेका वस्तीलाई हामीले स्थानातरण गर्ने तयारी पनि गरिरहेका छौं ।”

संघिय विपत व्यवस्थापन समिति, जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय विपत व्यवस्थापन समितिसँग सहकार्य गरेर काम गरिरहेको मन्त्री भण्डारीको भनाई छ ।

स्थानीय विपत व्यवस्थापन समितिलाई प्रभावकारी बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा पूर्वसचिव केदार न्यौपानेले “मनसुन हिजो, आज र भोलि” विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै “२०८१ सालको मनसुन चित्रहरुमा” कार्यपत्र डीपीनेटका अध्यक्ष डा. राजु थापाले प्रस्तुत गरेका थिए ।

जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले “२०८२ सालको मनसुन प्रक्षेपण” कार्यपत्र प्रस्तुत गरे भने राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका गोमा चेम्जोङले “संघीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२” विषयक कार्यपत्र प्रस्तुत गरिन् ।

त्यस्तै कोशी प्रदेशको “मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी” रामकुमार दाहाल र यसप्रसाद सुब्बाले कार्यपत्र प्रस्तुत गरेका थिए ।