
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका परिवारका युवालाई उद्यमशिलताको यात्रातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न व्यावसायिक तालिमहरू सुरु गरिएको छ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत बारिष्टा र ड्राइभिङ तालिम सञ्चालनमा आएका हुन् ।
शिवसताक्षीको दूधेस्थित मिटअप क्याफेमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त तालिमको औपचारिक सुरुवात गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले कफी संस्कृति विस्तार हुँदै गएकाले बारिष्टा तालिमले रोजगारीको ठूलो सम्भावना बोकेको बताए ।
“देशभित्रै युवाहरूलाई सक्षम बनाई आयआर्जन गर्नसक्ने वातावरण बनाउनेतर्फ नगरपालिका लागिपरेको छ” उनले भने । सो तालिममा अपाङ्गता भएका परिवारका १० जना सहभागी छन्। तालिम १० दिनसम्म सञ्चालन हुनेछ।
यसैबीच, आजैबाट ४९ जना अपाङ्गता प्रभावित युवालाई लक्षित गरी ड्राइभिङ तालिम पनि सुरु गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष सन्त फेउदिनले ड्राइभिङ तालिमको उद्घाटन गरेका हुन् ।
१५ गतेसम्म सञ्चालन हुने सो तालिमले सहभागीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुर्यार्उने वडाध्यक्ष फेउदिनले विश्वास व्यत्तल गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्ले सहभागीहरूलाई अनुशासन र मर्यादाका साथ तालिम लिन सुझाव दिइन् । “नेपालमै होस् या विदेश, यहाँ सिकिएको सीप जीवनभर काम लाग्नेछ” उनको भनाई थियो।
शिवसताक्षी नगरपालिका लेखा शाखा प्रमुख प्रकाश योङ्हाङ्ले तालिम पछि सबै सहभागी स्वावलम्बी बन्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत भोलिदेखि पाँच दिने अम्लिसो कुच्चो बाँध्ने र अर्ग्यानिक साबुन बनाउने तालिम पनि सुरु हुने जनाइएको छ।
कार्यक्रममा समावेशी अपाङ्गता समितिका अध्यक्ष रमेश भण्डारीले औचित्य माथि प्रकाश पारेका थिए । वारिष्टा तालिम उद्घाटन शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेको अध्यक्षतामा भएको थियो भने ड्राइभिङ्ग तालिमको उद्घाटन नगरका लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ्गको अध्यक्षतामा भएको थियो ।
दुवै कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले गरेकी थिइन् ।