
काठमाडौं । आज दिउँसो सबै प्रदेशका केही ठाउँमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ ।
यस्तै राति यी चार प्रदेशसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा राति पनि ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी अर्थात ठूलो वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै ठूलो वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति ठूलो वर्षा हो । देशका विभिन्न ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले भोटेकोशी, सुनकोशीलगायत नदीको जलाधार क्षेत्रमा मनसुनी वायुको प्रभाव भए पनि कमजोर रहेको बताएको छ ।
चीनको प्रहरी कार्यालयबाट अत्यधिक वर्षा हुने भनी पठाएको सूचना भन्दै प्रेषित सार्वजनिक जानकारीप्रति ध्यानाकर्षण भएको भन्दै विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार हालको भूउपग्रह र मौसम विश्लेषणका आधारमा ती क्षेत्रहरूमा मनसुनको प्रभाव रहे पनि कमजोर अवस्थामै रहेको र हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको छ ।
यद्यपि मौसममा हुने आकश्मिक परिवर्तन र बाढीजन्य सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभागले निरन्तर अनुगमन गरिरहेको र अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।