
- गोपाल काफ्ले
मैले यो वर्ष कर्णाली प्रदेशको पहाडी जिल्ला यात्रामा रहँदा प्राकृतिक सौन्दर्यले भरिपूर्ण रारा ताल अवलोकन गर्ने अवसर जुटाएँ । सुदुर पूर्वको बासिन्दा, त्यो पनि कामकाजी ब्यक्तिलाई हप्तौंको यात्रा अवसर कम मात्रामा नै हुन्छ । यसैले बल्ल बल्ल मिलेको देश दर्शनको मौकामा नेपालको सबैभन्दा ठूलो ताल देख्न पाउनु अविस्मरणीय नै हो ।
कर्णाली प्रदेशको पहाडी जिल्लाहरु भ्रमणको मुख्य उद्देश्य जुम्ला जिल्लाको सिंजा उपत्यका जानु थियो । जो हामी काफ्लेहरुको उद्गमस्थल मानिन्छ । आदिकालमा जब थरहरु विभक्त भएका थिए सोही समयदेखि काफ्लेहरु सिंजा उपत्यकामा बसोबास गरेका थिए भन्ने बुझाई छ । यसैको अध्ययन गर्न सिंजा पुगेको सन्दर्भमा हाम्रो भ्रमण दलले मुगु जिल्लाको रमणीय रारा ताल अवलोकन गरेको हो ।
हाम्रो भ्रमण दल ८ सदस्यीय थियो, सबै काफ्लेमात्र । झापाको बिर्तामोडबाट पंक्तिकारसहित कुमार र उहाँकी छोरी डिना । अर्जुनधाराबाट तोयानाथ र रमेश, दमकबाट ओमप्रकाश र दुर्गाकुमारी अनि हाम्रो सारथी सवारी चालक जितबहादुर । आठका आठ काफ्ले । एक छोरी, एक बुहारी र अरु ६ जना छोराहरु । काफ्लेको उद्गमस्थल सिंजा उपत्यकाको देहारपाटामा हाम्रो बस्ती रहेछ । १२० घर परिवारको अझै पनि त्यहाँ बसोबास रहेछ । बैशाख २९ गते पूर्णिमाको दिन देहारपाटा अवलोकन गरेर बैशाख ३० गते हामी राराताल गएका थियौं ।
रारा तालबारे जानकारी :
दुर्गम पहाडी जिल्ला मुगुमा अवस्थित रारा ताल, नेपालको सबैभन्दा ठूलो र प्रख्यात ताल हो । यसलाई पहिले महेन्द्र ताल भनेर चिनिन्थ्यो । हामीले सानो कक्षाहरुमा अध्ययन गर्दा महेन्द्र ताल भनेर नै पढेका थियौं । राजा महेन्द्रले वि. सं. २०२० सालमा यो तालको भ्रमण गरेर यसको सुन्दरतामा मोहित भएर यसलाई ‘स्वर्गकी अप्सरा’ भनेर विशेषता जोडिदिएका थिए । सोही कालखण्डदेखि यस ताललाई महेन्द्र ताल नामकरण गरिएको रहेछ । राजदरबारको प्रभाव कम भए पछि सायद आज सबैले रारा ताल नै भन्ने गरिएको छ ।
रारा राष्ट्रिय निकुञ्जभित्र रारा ताल संरक्षित छ । यो ताल समुद्री सतहबाट करिब २ हजार ९९० मिटर (९,८१० फिट) को उचाइमा रहेको त्यहाँ राखिएको सूचना पाटीमा उल्लेख छ । यसको लम्बाइ करिब ५ दशमलव १ किलोमिटर र चौडाइ करिब २ दशमलव ७ किलोमिटर छ भने रारा ताल १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तालको अधिकतम गहिराइ १६७ मिटर रहेको सूचना पाटीमा उल्लेख छ ।
मुख्य विशेषताहरू :
रारा तालमा पानीको रङ्ग समय अनुसार बदलिइरहने बताइन्छ । हाम्रो टोली मध्यान्ह दिउँसो तालको अवलोकन गर्न पुगेकाले यी सबै प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएनौं । तर रारा ताको पानी बिहानी समयमा कालो, दिउँसो निलो र साँझमा सप्तरङ्गी देखिने गरेको छ ।
यस तालको वरिपरि सल्लाको घना जंगल छ । हावाको वहावसँगै सल्ला सुसाएको सुन्न पाइन्छ । तालबाट सिस्ने र कान्जिरोवाजस्ता सुन्दर हिमालहरू अवलोकन गर्न पाइन्छ । जेठ महिनादेखि असोजसम्म विभिन्न रङ्गका फूलहरूले ताल वरपर शोभायमान बनाएको पाइन्छ । रारा तालमा विश्वमै कतै नपाइने ‘स्नो ट्राउट’ (असला) प्रजातिको माछा छन् । जसले रारा ताको जैविक विविधता झल्काउँछ ।
पर्यटकीय महत्व :
रारा ताल नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरू मध्ये एक हो । पुग्नका लागि भौगोलिक रुपमा अप्ठ्यारो भए पनि त्यहाँ पुगेपछि फर्केर आउन मन नै लाग्दैन । ‘स्वर्गकी अप्सरा’ भनेर राजा महेन्द्रले विशेषण दिएको सायद यसैले हुनुपर्छ । मुख्य पर्यटकीय सिजनमा यहाँ वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरुको आउजाउ हुने गरेको होटल ब्यवसायीहरु बताउँछन् ।
तालको किनारै किनार वरिपरी घुम्नको लागि गोरेटो बाटो बनाइएको छ । जसलाई एक फन्को लगाउन व्यक्तिको हिडाइका आधारमा ५ घण्टासम्म लाग्ने बताइन्छ । तालमा घुम्नको लागि डुङ्गा सयरको सुविधा पनि उपलब्ध छ । तर दिउँसो १२ बजे अगाडिमात्र यो सुविधा पाइने रहेछ । मध्यान्ह पछि हावाको वहावले तालमा नै डुङ्गा पल्टाउने खतरा रहेकाले बिहानको समयमा मात्र डुङ्गामा सयर गर्न पाइने रहेछ ।
भौगोलिक विकटताका कारण यहाँ पर्यटकको संख्या कम भए पनि यसको सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दछ । रारा ताललाई २००७ मा रामसार सूचीमा सूचीकृत गरिएको थियो, जसले यसको अन्तर्राष्ट्रिय महत्वलाई पनि दर्शाउँछ । यो ताल मुगु जिल्लाको मात्र नभई समग्र नेपालको गौरव हो र यसले कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार बन्न सक्ने ठूलो सम्भावना बोकेको छ ।
कसरी पुगिन्छ :
भौगोलिक विकटताका कारण विगतमा रारा तालसम्म पुग्न सहज थिएन । हामी पनि असहजतालाई सहज बनाउँदै स्थलमार्गबाट यात्रा तय गरेका थियौं । रारा पुग्न सार्वजनिक सवारी साधनको पहुँच अत्यन्तै कम्ति रहेछ । तर पर्यटकका लागि निजी सवारी साधनले रारा ताल प्रवेश गर्ने गेट सल्लेरीसम्म नै पुर्याउने रहेछ । हामीले झापाबाटै निजी सवारी साधन लिएर गएका थियौं । अप्ठ्यारो बाटोलाई पनि हाम्रा सारथी जेवीले कुशलतापूर्वक पार गरेर यात्रा सफल भयो ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको कोहलपुरबाट उत्तर सुर्खेततर्फ जाने कर्णाली हाइवे रारा जानका लागि मुख्य मार्ग हो । जहाँ जुन भूगोलको बसोबासी भए पनि कोहलपुर पुग्न असहज हुँदैन ।
यसैगरी पूर्वबाट सुर्खेत जानका लागि दाङको तुलसीपुरबाट पनि अर्को बाटो रहेछ । हामीले दाङको लमहीस्थित अर्जुनखोलाबाट उत्तर घोराही हुँदै तुलसीपुरबाट सल्यानको पुतलीबजार हुँदै सुर्खेतको बीरेन्द्र नगर पुग्ने अलि छोटो बाटो रोजेका थियौं । निर्माणाधीन मदन भण्डारी राजमार्गको कतिपय खण्डमा कालोपत्रे भइसकेको रहेछ भने कहीँ अझैपनि रेखांकनमा मात्र सिमित रहेको पाइयो । त्यसैले उक्त सडक निर्माण पूरा नहुँदासम्म छोटो बाटो भनेर कष्टकर यात्रा तय नगर्नु नै श्रेयस्कर हुनेछ ।
बीरेन्द्रनगरबाट बड्डीचौर–राकम कर्णाली हुँदै कालिकोटको सदरमुकाम मान्मालाई कर्णाली राजमार्गले भेट्ने रहेछ । कर्णाली राजमार्गको कालिकोट जिल्ला भरिको खण्ड तुलनात्मकरुपमा धेरै अप्ठ्यारो बाटो रहेछ । सडक बिस्तार गर्न पनि धेरै कठिन भूगोल अनि भएको सडकलाई स्तरोन्नति गर्न पनि चासो नदिइएर हो वा अन्य केही कारण छन्, कालिकोट जिल्लाभरको बाटो धेरै अप्ठ्यारो रहेछ ।
तर जुम्ला प्रवेश गर्ने सिमाना नाग्मादेखि चाहिँ फेरि भूगोलले पनि साथदिएर होला, सडक राम्रो बनाएको रहेछ । जुम्लामा त नाग्मा–गमगढी सडक निर्माण परियोजना नै सञ्चालन रहेछ, जसले देहारपाटादेखि ५–७ किलोमिटर कनकासुन्दरी मन्दिर क्षेत्रसम्मको बाटो कालोपत्रे गरेको समेत पाइयो ।
उक्त सडकमा मिनी बसहरु, स्कोरपियो, टाटा सुमोजस्ता साधनहरुको ओहोरदोहोर भइरहेको पाइन्थ्यो । यस्ता सवारीहरु रारा ताल प्रवेश गर्ने गेट रहेको सल्लेरी बसपार्कसम्म पुग्दा रहेछन् । अचम्म त के भने तीनपाङ्ग्रे अटोले त्यस्तो विकट पहाडमा पनि यात्रुहरुलाई सेवा दिइरहेका रहेछन् । यो दृश्यले हामीलाई के लाग्यो भने राम्रो कम्पनीको तान भएको अटो भयो भने त देशको कुनाकाप्चासम्म पो यात्रा गर्न सकिने रहेछ कि !
राराको यात्रा अनुभव
सल्लेरीबाट घोडा चढेर करिब आधा घण्टामा वा पैदलै हिंडेर जान चाहनेले पनि एक घण्टाको यात्रा तय गरेपछि रारा ताल पुगिन्छ । निकुञ्ज क्षेत्र भएकाले सल्लेरीबाट कुनै पनि निजी वा सार्वजनिक सवारी साधनहरु प्रयोग गर्न नपाइने रहेछ ।
स्थल मार्गको कुरा पछि अब हवाई मार्गको पनि कुरा गरौं । मुगुको ताल्चा विमानस्थलसम्म हवाई मार्गबाट पुगिन्छ । सो पछि करिब २ घण्टाको पैदल यात्रा वा घोडामा चढेर तालसम्म पुग्न सकिन्छ । वा, विमानस्थलबाट सल्लेरी बसपार्कसम्म साना सवारी साधनहरु पनि प्रयोग गर्न सकिन्छ ।
अनुमानित लागत :
हामी पूर्व कोशी प्रदेशका बासिन्दाहरुका लागि कर्णाली प्रदेशमा अवस्थित स्वर्गकी अप्सरा देख्न पक्कै मन लागेको हुन्छ । दूरी तथा भौगोलिक विकटताका कारण बाक्लै पुग्न नसकिएला । तर एक पटक चाहिँ पुगौं न त भन्नेहरुका लागि यस यात्राका लागि अनुमानित लागत पनि थाहा हुनु राम्रो मानिन्छ ।
झापा–मोरङ–सुनसरीका मानिसहरुले स्थल मार्ग हुँदै रारा पुग्न, ग्राउण्ड क्लियरेन्स राम्रो भएको निजी सवारी साधन लिएर गएमा चौथो दिनमा ताल पुगिने रहेछ । बाटोमा पर्ने पर्यटकीय एवम् अवलोकनीय स्थलहरुमा केही समय बिताउँदै जाँदा आउँदा यात्रा अवधी कम्तीमा ८ दिनको हुने रहेछ ।
सवारी साधनको भाडा, इन्धन, चालक खर्चसमेत किफायती ढंगले गर्ने अनि लक्जरीयस होटलमा नभई ‘उपलब्ध मध्ये राम्रो’ होटलमा बास बस्ने र खाना खाजा पनि उपलब्ध मध्ये स्वस्थकर र मिठो रोज्ने हो भने ७ जनाको लागि दुई लाख रुपैयाँ लागत लाग्ने हुन्छ । अर्थात् प्रतिव्यक्ति ३० हजार रुपैयाँ हाराहारीका दरले जुटाएर एउटा समूह वा परिवारले पूर्वबाट रारा हेरेर आउन सकिन्छ ।