
झापा । नयाँ युद्धपोत परीक्षणका क्रममा दुर्घटना भएपछि उत्तर कोरियाका तीन जना अधिकारी पक्राउ परेका छन् ।
गएको बुधवार नयाँ युद्धपोत परीक्षणका क्रममा भएको दुर्घटनाका विषयमा शीपयार्डका तीन जना अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चोङजिन शीपयार्डका मुख्य इन्जिनियर, शीपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धक रहेका छन् । युद्धपोत पूर्वी बन्दरगाह शहर चोङजिन शिपयार्डमै निर्माण गरिएको थियो । युद्धपोतलाई ठूलो निलो त्रिपालले छोपिएको तस्वीरमा देखिन्छ ।
झन्डै पाँच हजार टन तौल भएको युद्धपोतको तल्लो भाग प्रक्षेपणका क्रममा भाँचिएको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले यो घटनालाई आपराधिक कार्य भनेका थिए।
युद्धपोत प्रक्षेपण समारोहमा उत्तर कोरियाली नेता उन पनि सहभागी थिए। उनले जिम्मेवार अधिकारीहरूको गैरजिम्मेवार गल्तीलाई अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिनेसमेत बताएका थिए।