
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको चिकित्सकहरु बताउँछन् ।
‘संसारकै सबैभन्दा जटिल शल्यक्रियामध्येको दुवै अंग एकैसाथ प्रत्यारोपण हुने केश विरलै मात्रै हुने गरेको छ,’ अस्पतालका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले भने ।
अस्पतालका अनुसार एकजना बिरामीमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया एक महिलामा प्रत्यारोपण गरिएको छ । अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहेका छन् र केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेका श्रेष्ठले बताए ।
१ जेठमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । काठमाडौं मेडिकल कलेजले अंग झिकेको थियो ।
प्रत्यारोपण शल्यचिकित्सक डा। पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो । कलेजो प्रत्यारोपणमा डा। रोशन घिमिरे र डा। प्रविण महर्जनले सहयोग गरेका थिए ।
मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा.रोजन अधिकारी, डा. विकास खड्का लगायतले सहयोग गरेका थिए ।
एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।
नेफ्रोलोजी विभागबाट डा. कल्पना कुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. विक्रमवीर बज्राचार्य लगायतका स्वास्थ्यकर्मी सहभागी भएका थिए ।
केन्द्रले वि.सं. २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको थियो । नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा। पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको थियो ।
हालसम्म सबैभन्दा धेरै ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रमा संभवतः संसारकै सबैभन्दा सस्तो मूल्यमा (१५ देखि २० लाख) कलेजो प्रत्यारोपण गर्ने गरिएको छ ।
३ वर्षको बालकदेखि ६८ वर्षसम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भइसकेको केन्द्रले जनाएको छ ।
केन्द्रले देशमै पहिलो पटक २०७४ साल वैशाख २८ गते मस्तिष्क मृत व्यक्तिबाट दुई मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि हालसम्म ६ जना व्यक्तिबाट १२ जनाको मिर्गौला र ४ जनाको कलेजो गरी जम्मा १५ जनाको प्रत्यारोपण भएको छ ।
नेपालमा सडक दुर्घटनाबाट प्रत्येक दिन ४ देखि ६ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै वार्षिक करिब हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान गरिन्छ । एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ जनासम्मले पुनर्जीवन पाउन सक्छन् ।
जसमा दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्याङ्क्रियाज, एक सानो आन्द्रा गरी ८ जनाले पुनर्जीवन पाउन सक्छन् ।
‘मस्तिष्क मृत्यु भएपछि खेर जाने अंगले अर्को कसैलाई नयाँ जीवन दिन्छ । एक व्यक्तिबाट आठ जनाको जीवन बाँच्न सक्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘अरू व्यक्तिको जीवन बचाउनका लागि अंगदान गर्ने मञ्जुरी दिनुभन्दा ठूलो महादान के हुन सक्छ र ?’