
शिवसताक्षी । झापाको शिवसताक्षीमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु हुने भएको छ । आज शिवसताक्षी नगरपालिका कार्यालयमा स्थानीय पाठ्यक्रम प्रबोधिकरण कार्यशाला गराइएको हो ।
नगरपालिकाले कक्षा १ देखि ८ सम्मको लागि स्थानीय पाठ्यक्रम तयार पारेको नगर शिक्षा अधिकृत छवि ढकालले जानकारी दिए । उक्त पाठ्यक्रममा विषयहरुमा आज कक्षा १ देखि ३ सम्मका शिक्षकहरुलाई प्रबोधिकरण गराइएको हो ।
पाठ्यक्रममा शिवसताक्षी नगरका भाषा, धर्म, सम्प्रदाय, संस्कृति, मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरु, पुराना मठ मन्दिरजस्ता विषयहरु समेटिएको शिक्षा शाखाले जनाएको छ ।
स्थानीय इतिहास र संस्कृति, जातजाति, भाषा, परम्परागत पर्वहरू र चाडपर्वहरु, लोककला, लोकसंगीत, नृत्य र हस्तकलाहरू, मौलिक पोशाक, खानपान, संस्कृति, भौगोलिक तथा पर्यावरणीय अवस्था, नगरपालिकाको भू–स्थिति, भूगोल र मौसम, स्थानीय नदी, जंगल, तथा जैविक विविधता, वातावरणीय संरक्षण र स्रोत व्यवस्थापन लगायत नगरको पहिचान, नगर भित्रका सबै विषयहरुलाई पाठ्यक्रममा समावेश गरिएको जनाइएको छ ।
नगरभित्रका भूगोल, जनसंख्या, स्थानीय स्तरमा उत्पादन हुने वस्तु, यहाँ पाइने जडिबुटी लगायतका सबै विषयहरुलाई समावेश गरिएको स्थानीय पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक श्रीप्रसाद खरेलले जानकारी दिए ।
प्रबोधिकरण कार्याशालाको उद्घाटनका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले स्थानीय पाठ्यक्रमको शिवसताक्षी नगरमा छुट्टै महत्व रहेको जानकारी दिए ।
नगर भित्रका विद्यार्थीहरुले कम्तिमा पनि यहाँको भूगोल, जनसंख्या, भाषा, धर्म, संस्कृति लगायतका विषयहरु अध्ययन गर्न पाउनु पर्छ भन्ने मान्यताका आधारमा पाठ्यक्रम निर्माण गरिएको छ । उनले भने, यसै शैक्षिक सत्रमा कक्षा १ देखि ३ सम्ममा स्थानीय पाठ्यक्रमको शिवसताक्षीको पहिचान नामक पुस्तक पठन पाठन सुरु गरिने छ । वर्षेनी स्थानीय पाठ्यक्रमलाई माथिल्लो कक्षामा लागू गर्दै जाने नगरप्रमुखको भनाई थियो ।
कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्कीले शिवसताक्षीको चिनारीसहितको पाठ्यक्रम यहाँका बालबालिहरुलाई शिक्षामा टेवा पुग्ने बताए । उनले नगरपालिकाले शिक्षामा ठूलो लगानी गरेको भन्दै विद्यार्थीहरुको क्षमताको पहिचान गरी नगर भित्रका रहेका शिक्षकहरुले अध्यापन गराउनु पर्ने बताए ।
स्थानीय पाठ्यक्रमको प्रबोधिकरण कार्यशालाको सहजीकरण शिक्षक योन्जन सुनुवार र श्रीप्रसाद खरेलले गरेका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ शिवसताक्षी अध्यक्ष बेनुप्रसाद कार्की, प्याब्सन शिवसताक्षी अध्यक्ष रामप्रसाद सुहाङ्ग लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी मिलन विष्टले गरेका थिए ।