२०८२ जेठ १०, शुक्रवार , ०९:३५:२० बजे

Sajhamanch
'

बजेट लेखनको अन्तिम तयारी, विभिन्न क्षेत्रबाट प्राप्त सुझाव समेट्ने काम चल्दै

शुक्रवार, जेठ १०, २०८२

काठमाडौं । आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाईसमेत समेट्ने काम भइरहेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले देशको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको जानकारी दिए। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टोली बजेट निर्माणमा केन्द्रित छ ।

अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो ।

अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गरेका थिए।

यस्तै अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरुसँगसमेत परामर्श गरेको थियो । त्यसैगरी पूर्व अर्थ सचिवहरु, अर्थ विद्हरु, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका विषयतगत सङ्घसंस्थाहरुसँग छलफल गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

विकास साझेदारहरुसँग पनि छलफल भएको छ । बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरु, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए ।

अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिन सार्वजनिक रुपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथिमकताबारे संसदमा छलफल भइसकेको छ ।

बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षालगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

यही जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।

सम्बन्धित खबर