
- उमानाथ भण्डारी
चुलाचुली । दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकको मुख्य पेसा पशुपालन हो । झापा र मोरङसँग सिमाना जोडिएको सो गाउँपालिकाका बासिन्दाको आम्दानीको मुख्य स्रोत पनि पशुपालन नै हो ।
चुलाचुली गाउँपालिकाको भौगोलिक अवस्था पशुपालनका लागि उपयुक्त पनि छ । गाउँपालिकाको घरधुरी संख्या ५ हजार ६१३ मध्ये पशुपालनमा ४ हजार ७८८ घरधुरी अर्थात् ८५ प्रतिशत आवद्ध रहेको पालिकाको तथ्याङ्क छ ।
गाउँपलिकामा यति ठूलो संख्यामा पशुपालक किसान भएपछि त्यसलाई दिगोपन दिँदै र कृषकलाई व्यवसायिक बनाउन तर्फ जनप्रतिनिधि पनि लागिपरेको पाइन्छ । चुरे पहाडको फेदमा रहेको र प्रशस्तै चरण क्षेत्र भएकाले समेत सो पािलकाका कृषक पशुपालनतर्फ लागेका हुन् ।
पशुपालन व्यवसायमा लागेका कृषकलाई पालिकाबाट विभन्नि अनुदान सहयोग गरेकोले पनि पशुपालनको क्षेत्रमा यति ठूलो परिवर्तन आएको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग बताउँछन् ।
‘पालिकाका बासिन्दाको मुख्य पेशा नै पशुपालन भएकाले सोका लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको’ गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी लिम्बू बताउँछिन् । पालिकाबाट व्यवसायिक कृषकलाई विभिन्न अनुदानसमेत उपलब्ध गराइँदै आएको उनको भनाई छ ।
पालिका पशुसेवा शाखाको तर्फबाट पशुपालक कृषकका लागि निःशुल्क औषधी प्रदान, पशु आहारका कार्यक्रम, भ्याक्सिनेसन, बिऊ बोका वितरण लगायतका कार्यक्रम सञ्चलान गरिरहेको शाखा प्रमुख महेश राईले बताए ।
पालिकाको आफ्नै स्रोत साधन तथा प्रदेश र संघीय सरकारको समन्वयमा अनुदानका रुपमा उक्त सुविधा वितरण गर्ने गरेको शाखा प्रमुख राईको भनाई छ ।
इलाम जिल्लाका सबै स्थानीय तहलाई खोरेत मुक्त पालिका घोषणा गर्नका लागि भ्याक्सिनेसनको कामसमेत भइरहेको पशुसेवा शाखा प्रमुख राईले बताए ।
सरकारको तर्फबाट उत्पादनमा मात्र लगानी भइरहेकाले अबका दिनमा बजारीकरणतर्फ पनि ध्यान दिन आवश्यक रहेको किसानहरु बताउँछन् । आफूले उत्पादन गरेको बस्तुले बजार नपाएका कारण अधिकांश कृषक बैंकको कर्जा तिर्न नसकेर विदेश पलायन हुने गरेको कृषकको गुनासो छ ।
स्थानीय सरकारले पनि अनुदान रकमलाई हटाउँदैं कृषकले उत्पादन गरेका बस्तुको बजारीकरण गर्न सहयोग गरेमा विदेशिन लालयित युवा स्वदेशमा नै बसेर पशुपालन पेसातर्फ आकर्षण हुने थिए कि !