२०८२ जेठ ९, बिहिवार , ०३:१६:३० बजे

Sajhamanch
'

भारतको छत्तीसगढमा शीर्ष माओवादी नेता बसवराजू मारिए

बिहिवार, जेठ ९, २०८२

झापा । भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भीडन्तमा परेर शीर्ष माओवादी नेता बसवराजू मारिएका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले छत्तीसगढ राज्यको नारायणपुरमा सुरक्षा बलको कारबाहीमा २७ जना माओवादी मारिएकामा सीपीआई–माओवादीका महासचिव, शीर्ष नेता र नक्सलवाद आन्दोलनका प्रमुख नम्बाला केशव राव अर्थात् बसवराजू पनि रहेका सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

गृहमन्त्री शाहले नक्सलवादलाई समाप्त गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि भएको बताए। यस्तै उनले अपरेशन ‘ब्ल्याक फरेस्ट’ पूरा भएपछि छत्तीसगढ, तेलङ्गाना र महाराष्ट्र राज्यमा ५४ जना पक्राउ परेका र ८४ जनाले आत्मसमर्पण गरेका जानकारी दिए।

हिजो छत्तीसगढको नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लामा भएको मुठभेडका क्रममा २७ जना माओवादी मारिएका प्रहरीले पनि दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सरकारले यसलाई ऐतिहासिक उपलब्धि बताए पनि माओवादलाई नजिकबाट नियाल्ने केही विज्ञ र पत्रकारहरूले माओवाद समाप्त भएको घोषणा गर्नु धेरै चाँडो हुने विश्वास गरेका खबरमा उल्लेख छ ।

पछिल्ला केही वर्षहरूमा सुरक्षा बलले नक्सल विरोधी अभियानहरूमा सफलता हासिल गरेका छन् तर उनीहरूले क्षति पनि बेहोर्नुपरेको छ । साथै सुरक्षा बलका केही कार्यहरूमाथि पनि प्रश्न उठेका छन् ।

छत्तीसगढ प्रहरीले यो अपरेशनलाई ऐतिहासिक विजयका रूपमा वर्णन गरेको छ । यस अपरेशनमा जिल्ला रिजर्भ गाड्र्स (डीआरजी) का एक जवानको पनि ज्यान गएको छ ।

सरकारी तथ्याङ्कानुसार सन् २०२५ मा मारिएका माओवादीहरूको सङ्ख्या १८० भन्दा धेरै पुगेको छ ।