२०८२ जेठ ९, बिहिवार , ०७:४२:०१ बजे

Sajhamanch
'

होला त २०८३ मंसिरभित्र नेपाली कांग्रेसको १५औं महाधिवेशन

बिहिवार, जेठ ९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको अन्तिम म्याद असार मसान्तसम्मलाई तोकेको छ ।

महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको हो।

कांग्रेसले १५औँ महाधिवेशनको मिति तोकेको छैन । तर नेताहरूले भने महाधिवेशनको तयारी थालिसकेका छन् । २०७८ सालमा १४औँ महाधिवेशन गरेको कांग्रेसको नियमित ४ वर्षे कार्यकाल २०८३ मंसिर मसान्तमा सकिन्छ । उक्त अवधिमा महाधिवेशनको टुंगो नभए असाधारण अवस्था रहेको खण्डमा मात्रै थप १ वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ ।

अहिलेकै अवस्थामा कांग्रेसले २०८३ मंसिरभित्र महाधिवेशन गर्ने सम्भावना छैन । तर त्यसपछि पाँचौँ वर्षमा समेत महाधिवेशन गर्ने वा नगर्ने भन्ने तय गर्न क्रियाशील सदस्यताको काम मुख्य रहन्छ । महाधिवेशनको मुखमा क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित हुनु कांग्रेसको पुरानै रोग हो।

यसवर्ष १५औँ महाधिवेशनका लागि असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने गरी अन्तिम म्याद तोकिएको सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए । ‘हामीले असार मसान्तका लागि अन्तिम म्याद तोकेका छौँ । धेरै जिल्लाको काम सम्पन्न हुने क्रममा छ’ उनले भने, ‘असारसम्ममा विवाद भएका जिल्लाहरू सहित ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

उनका अनुसार हाल करिब १० जिल्लामा सदस्यताको विवाद छ। त्यस्तो विवाद देखिएका जिल्लाहरूमा सिरहा, बारा, सर्लाही, खोटाङ, रुपन्देही, कपिलवस्तुलगायत जिल्ला छन् ।

त्यस्तै, समितिले पार्टीको अनुशासन समितिमा उजुरी परेर हालसम्म निर्णय भइनसकेका २१ सय उजुरीका सम्बन्धमा समेत अनुशासन समितिसँग छलफल गरी टुंगोमा पुग्ने निर्णय गरेको छ ।

‘पार्टीको अनुशासन उल्लंघन गरेको भनेर २१ सय उजुरीहरू परेका छन् । तीमध्ये कसको सदस्यता नवीकरण गर्ने वा नगर्ने ? को कारबाहीमा परेका हुन् ? कसलाई आममाफी दिइएको हो ? त्यसको समेत विवरण आएपछि मात्रै नवीकरणको टुंगो लगाउन सकिने अवस्था छ’ उनले भने ।

समितिले साउनदेखि भने महिला, दलित, मधेशी, आदिवासी जनजाति र थारूलगायत सीमान्तकृत समुदायको मतभारलाई आधार बनाएर नयाँ सदस्यता आह्वान गर्ने भएको छ । ‘असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय आज बसेको बैठकले गरेको छ’ केन्द्रीय सदस्यसमेत रहेका स्नेहीले भने ।

महामन्त्री थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

सम्बन्धित खबर