२०८२ जेठ ८, बुधवार , १०:४६:४३ बजे

Sajhamanch
'

‘हेराफेरी ३’ विवाद चर्कियो : अक्षयले परेशलाई पठाए २५ करोडको लिगल नोटिस

बुधवार, जेठ ८, २०८२

मुम्बई । बलिउड फिल्म ‘हेराफेरी ३’ का कलाकारबीचको विवाद गहिरिएको छ । अभिनेता अक्षय कुमारले छायांकनलाई बीचमै छोडेकोमा अर्का अभिनेता परेश रावललाई २५ करोड क्षतिपूर्तिको माग गर्दै लिगल नोटिस पठाएका छन् । परेशले गैरव्यवसायिकता प्रदर्शन गरेको आरोप अक्षयको छ ।अक्षयको फिल्म कम्पनी ‘केप अफ गुड फिल्म’ले नोटिस पठाएको हो । परेशले गतसाता आफू फिल्मबाट बाहिरिएको बताएका थिए । उनको अभिव्यक्तिपछि ‘हेराफेरी’ फ्रान्चाइजका लाखौं प्रशंसकमा निराशा छाएको छ ।कलाकार अक्षय कुमार, सुनील शेट्टी र परेशले अप्रिलमा प्रियदर्शनको फिल्मको छायांकन सुरु गरेका थिए । अक्षय ‘हेराफेरी ३’ का निर्माता पनि हुन्, उनले फिरोज नाडियाडवालाबाट कानुनी रूपमा यसको अधिकार किनेका छन् ।

परेशले पनि आफ्नो निर्णयको कारण रचनात्मकता वा पैसाको कमी नभएको बताएका छन् । स्रोतका अनुसार उनलाई यो फिल्मको लागि सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक समेत दिइएको थियो ।मुद्दाको कानुनी कार्यवाहीको बारेमा जानकार एक स्रोतले भन्यो, ‘परेशले व्यावसायिक निष्ठा उल्लंघन गरेका छन् । यदि फिल्ममा काम गर्न चाहँदैनथे भने, कानुनी सम्झौतामा हस्ताक्षर गर्नु र सुटिङमा यति धेरै पैसा खर्च गर्नुअघि नै उनले त्यसो भन्नुपथ्र्यो । बलिउड कलाकारले यो बुझ्ने समय आएको छ कि हलिउड जस्तै यहाँ पनि निर्माताले कसैलाई पनि आफ्नो इच्छा अनुसार फिल्ममा आउन र जान दिने छैनन् ।’

अक्षयको ३५ वर्षे करियरमा यस्तो भएको पहिलो पटक हो जब उनले उद्योगका कुनै सहकर्मीलाई अनुपयुक्त आचरणको लागि मुद्दा हालेका छन् । परेशको बारेमा कुरा गर्दा यो कुरा नयाँ होइन ।रावलले सन् २०२३ मा ’ओह माई गड २’ गर्न अस्वीकार गर्दै र पटकथा मन नपरेको बताए । सन् २००९ को सुरुमा शाहरुख खानको ’बिल्लु बार्बर’ छोडेपछि उनले त्यसो गरेको बताइन्छ । संयोगवश, त्यो फिल्म पनि प्रियदर्शनले निर्देशन गरेका थिए ।

‘हेरा फेरी’ फ्रान्चाइजका फ्यानका लागि परेशका गतिविधि सुखद छैनन् । स्रोतले भन्यो, ‘परेश आफैंले जनवरीमा आफ्नो एक्स ह्यान्डलमा फिल्मको घोषणा गरेका थिए, उनले सबै पूर्व-निर्माण योजनामा भाग लिएका थिए । एक दिनको लागि छायांकन गर्दा, त्यतिबेला उनलाई कुनै समस्या थिएन । अचानक यस फ्रान्चाइजका फ्यानहरूको भावनासँग खेल्नु र निर्मातालाई हानि पुर्‍याउनु एकदमै गलत हो ।’