२०८२ जेठ ५, आइतवार , ०३:३२:४७ बजे

Sajhamanch
'

कोशीदेखि लुम्बिनी प्रदेशसम्म वर्षा, काठमाडौंको पानीपोखरीमा एक घण्टामै ३५ मिलिमिटर वर्षा रेकर्ड

आइतवार, जेठ ५, २०८२

काठमाडौं । अहिले काठमाडौं उपत्यका सहितका जिल्लाहरुमा अहिले पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ ।

काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मी लगायतका जिल्लामा पानी परिरहेको र चट्याङ पनि परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ । पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ । त्यसपछि धेरै वर्षा काभ्रेको खोपासी (पनौती) क्षेत्रमा १० मिलिमिटर वर्षा भएको छ ।

गत १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने स्याङ्जामा रेकर्ड भएको छ । स्याङ्जामा १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।

कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने फाटफुट्ट मात्र पानी परेको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । यी सबैको प्रभावले वर्षा गराइरहेको मौसमविदहरु बताउँछन् ।