२०८२ जेठ ५, आइतवार , ०९:३०:२१ बजे

Sajhamanch
'

तिङबुङ पोखरीको फोटो प्रदेशस्तरीय प्रतियोगितामा प्रथम, खिच्ने पत्रकार तोलाङले पाए २५ हजार पुरस्कार

आइतवार, जेठ ५, २०८२

सूर्योदय (इलाम) । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगितामा पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ।

कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटो प्रतियोगिता तथा प्रदर्शनी गरिएको हो।

प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन्।

उत्कृष्ट पाँच फोटोग्राफर र फोटो पत्रकारलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतियोगितामा प्राप्त २०८ फोटोहरू मध्ये ६० उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटो पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनोद पाण्डेले जानकारी दिए।

कार्यक्रम व्यवस्थापनका लागि विनोद पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो, जसमा पर्यटन कार्यालयका अधिकृत निरोज कट्टेल सदस्य सचिव, पत्रकार सन्तोष पुर्कोटी र दिपक बोहोरा सदस्य थिए।

त्यस्तै, निर्णायक समितिको संयोजकत्व गिरीराज बाँस्कोटाले गरेका थिए भने सदस्यमा वरिष्ठ फोटोग्राफर विश्व ताम्रकार र चित्रकला प्रशिक्षक छेतेन शेर्पा रहेका थिए।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले स्वागत मन्तव्य राखेका थिए।

पुरस्कृत फोटोका ग्राफरहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य सम्शेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराई र होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी गौतम लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रम सञ्चालन पत्रकार सन्तोष पुर्कोटीले गरेका थिए। प्रदर्शनी स्थलमा ४०० भन्दा धेरै अवलोकनकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर