
झापा । झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मादपण्ड पूरा गरेकाले बिहीबार बालमैत्री नगर घोषणा गर्न लागिएको जानकारी दिए ।
औसतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा गरिएको नगरप्रमुख पोखरेलले बताए । ‘राष्ट्रिय मापदण्डअनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुईवटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । गत वर्ष असार ४ गते नै सम्बन्धित निकायबाट बालमैत्री नगर घोषणाको अनुमति पाइसकेका छौँ’, उनले भने ।
बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले ६ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि ६ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने नौजना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको नगरका बालकल्याण अधिकारी उमानाथ भण्डारीले बताए ।
बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संचरना तयार गर्नाका साथै कार्यविधि, ऐन, कानून निर्माण गरिसकेको छ । बालविवाह, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्ययोजना बनाएर काम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए । नगरको १२औँ स्थापना दिवसको अवसर पारेर बिहीबार बालमैत्री नगर घोषणा गरिने उनले जानकारी दिए ।
बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरूले नगरसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताए ।
नगर कार्यपालिकाबाट २०७९ साल माघ १८ गते बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय भएको थियो । त्यसको चार वर्षपछि बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।