
काठमाडौं । नेपाल कम्पोस्ट सचेतना सप्ताह–२०८२’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो समुदाय कम्पोस्टबाट शुरु हुन्छन्’ भन्ने नाराका साथ नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने कार्यक्रममा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौशीखेती तथा यससम्बन्धी विभिन्न व्यवसायी संलग्न हुँदैछन् ।
विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलमा गठित नेपाल कम्पोस्ट कन्सोर्टियमले सप्ताहलाई कम्पोस्टिङसँग सम्बन्धित जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र स्थानीय समाधान प्रवर्द्धन गर्ने उद्देश्य राखेको पूर्वमन्त्री गणेश शाहले जानकारी दिए।
विगत २६ वर्षदेखि अन्तर्रराष्ट्रिय कम्पोस्ट सचेतना सप्ताह निरन्तर आयोजना हुँदै आएको र यस वर्ष पनि अङ्ग्रेजी मे महिनाको पहिलो हप्ता विश्वका विभिन्न ठाउँमा कार्यक्रम भइरहेका छन् ।
नेपालमा पहिलोपटक कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवालाले आजदेखि २७ गतेसम्म काठमाण्डौका विभिन्न ठाउँसहित देशका विभिन्न क्षेत्रमा कार्यक्रम गर्नेछन् ।
सप्ताहभरि विभिन्न विद्यालय, विश्वविद्यालय, पालिका, सामुदायिक संस्था तथा वातावरणमैत्री व्यवसायसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
आज काठमाण्डौको भृकुटीमण्डपबाट वसन्तपुरसम्म कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलमा कम्पोस्ट सचेतना र्यालीको आयोजना गरिएको छ ।
अभियानले घरदेखि कार्यालय, विद्यालयदेखि उद्योगसम्म आफ्नो जैविक फोहरलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गरी कम्पोस्ट उत्पादनमा लाग्न प्रेरित गर्ने विश्वास गरिएको छ ।