२०८२ वैशाख २०, शनिवार , ०६:५१:२२ बजे

Sajhamanch
'

कोशी लगानी सम्मेलन नेपालको विकासका लागि कोशेढुंगा : मन्त्री दाहाल

शुक्रवार, वैशाख १९, २०८२

बिराटनगर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजना गरिएको लगानी सम्मेलन नेपालकै विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् ।

लगानी सम्मेलनको अन्तिम दिनको सत्रमा आफ्नो विचार व्यक्त गर्दै मन्त्री दाहालले कोशी प्रदेशमा लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरु प्रशस्त रहेको र औद्योगीकरणको जग बसालेको कोशी प्रदेशमा उद्योग, कृषि, पर्यटन, यातायात लगायत प्रशस्तै क्षेत्रमा लगानी गर्न सकिने बताएका हुन् ।

सरकारले हालै विभिन्न कानूनहरु संशोधन गरी लगानीमैत्री वातावरणका लागि कानूनी आधारसमेत बलियो बनाएको भन्दै मन्त्री दाहालले आवश्यक परे अन्य कानूनहरु संशोधन वा निर्माणका लागि पनि सरकार तयार रहेको औंल्याए ।

‘विद्युत उत्पादन र उपभोगमा नेपालले जोड दिएको छ’ मन्त्री दाहालले भने, ‘त्यही भएर नेपाल सरकारले विद्युतीय सवारी साधन आयातलाई प्रोत्साहन पनि गरिरहेको हो ।’

नेपालमा लगानीको वातावरण राम्रो बनिरहेको भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विद्युतीय सवारी साधन उत्पादन तर्फ पनि लगानी बढाउन आग्रह गरे ।

‘‘हामी सम्पूर्ण यातायातलाई विद्युतीय बनाउने अभियानमा लागेका छौं । त्यसैले आगामी सन् २०३० सम्ममा सम्पूर्ण आयातको ८० प्रतिशतभन्दा बढी विद्युतीय यातायातका साधन मात्र आयत गर्ने गरी योजना बनाएका छौं’ सम्मेलनमा मन्त्री दाहालले भनेका छन् ।

‘‘हामी यो लगानी सम्मेलनमा मार्फत सबै लगानीकर्ताहरुलाई विद्युत उत्पादनको साथै विद्युतीय सवारी साधनका उद्योगहरु स्थापना गर्न आमन्त्रण गर्दछौं’ मन्त्री दाहालको आह्वान छ ।

कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा स्वदेशीसहित विभिन्न देशका लगानीकर्ताहरु सहभागी रहेका छन् । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उद्घाटन गरेका हुन् ।

सम्बन्धित खबर