२०८२ वैशाख १६, मङ्गलवार , ०९:००:२३ बजे

Sajhamanch
'

मेचीनगरमा नै अटिजम भएका बच्चा पढाउने स्कूलको माग

मङ्गलवार, वैशाख १६, २०८२

मेचीनगर । अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुले मेचीनगरमा विद्यालय खोल्न माग गरेका छन् ।

नगरपालिकाको महिला विकास शाखाले आज र भोलिका लागि आयोजना गरेको अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका अभिभावकहरुलाई दिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो माग राखेका हुन् ।

अटिजम भएका बालकका अभिभावक मन्दिरा शिवाकोटीले मेचीनगरमा अटिजम भएका बालबालिका पढाउने विद्यालय नभएकाले बिर्तामोड लानु परेकाले धेरै समस्या भएको बताइन् ।
‘अटिजम भएका बालकलाई सम्हाल्नै गाह्रो पर्छ’, शिवाकोटीले भनिन्, मेचीनगरमा नै विद्यालय भइदिए सबैलाई सहज हुने थियो । बच्चालाई टाडा लगेपछि समय र खर्च उत्तिनै हुन्छ ।’

अभिमुखिकरण कार्यक्रममा आएका अधिकांश अभिभावकहरुले अटिजम भएका बालबालिकाका समस्या राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेकी नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिभावकहरुको माग सम्बोधन गर्ने प्रयास गरिने बताइन् । यस विषयमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा बजेट माग गरिएको उनको भनाई छ ।

कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सामाजिक विकास शाखा प्रमुख शम्भु पौडेल लगायतले अटिजम हुनुको कारण, यसका समस्या र समाधानका उपायका बारेमा चर्चा गरेका थिए ।

अभिभावकहरुलाई विराटनगरस्थित अनमोल स्पेशल एजुकेशन सेन्टरका सञ्चालक संगीता न्यौपानेले प्रशिक्षण दिइरहेकी छन् । उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको सहजीकरण महिला विकास शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

सम्बन्धित खबर