
झापा । स्पेन र पोर्चुगलमा विद्युत आपूर्तिमा अवरोधपछि आपतकाल घोषणा गरिएको छ । यी दुई देशमा हिजोदेखि नै विद्युत आपूर्ति अवरुद्ध छ ।
बिजुलीको अभावमा मोबाइल फोन सेवा, इन्टरनेट नेटवर्क, रेल तथा हवाई सेवासहित विभिन्न क्षेत्रमा समस्या आएको छ । जसले दुवै देशहरूलाई आपतकालीन अवस्थाको घोषणा गर्न बाध्य बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विद्युत सञ्जाल सञ्चालकको मुख्यालय पुगेर समस्याको जानकारीसमेत लिएका छन् ।
त्यस्तै पोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले दिएको जानकारीअनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्ध हुँदा प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । विद्युत अवरोधमा साइबर आक्रमणबारेको कुनै सङ्केत नभेटिएको ईयूले जनाएको छ ।
स्पेन र पोर्चुगलमा व्यापक विद्युत अवरोधपछि त्यहाँ साइबर आक्रमण भएको भन्ने अनुमान गरिएको थियो । तर युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले अहिलेसम्म साइबर आक्रमणको कुनै सङ्केत नभेटिएको बताएका छन् ।बिजुली आपूर्तिका लागि निरन्तर प्रयास भइरहेको खबरमा उल्लेख छ ।