
झापा । भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ ।
पहलगाम आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच कूटनीतिक तिक्तता बढेपछि राष्ट्रसङ्घले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको बीबीसीले जनाएको हो । राष्ट्रसङ्घले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ ।
राष्ट्रसङ्घले दुवै देशले अधिकतम संयमता अपनाउनुपर्ने र दुई देशबीचको स्थिति थप बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्ने भनेको छ । भारत र पाकिस्तानबीचको कुनै पनि समस्या वार्ताको माध्यमबाट समाधान गर्न सकिने आफूहरूलाई विश्वास रहेको राष्ट्रसङ्घको भनाइ छ ।
पहलगाम आक्रमणलाई लिएर भारतले पाकिस्तानलाई सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ । दुवै देशले एकअर्काविरुद्ध प्रतिशोधात्मक कदम चाल्न शुरू गरेका छन् ।
भारतले हिजोदेखि नै पाकिस्तानसँगको सीमामा रहेको मुख्य नाका बन्द गरेको छ । यस्तै पानी बाँडफाँटको सिन्धु जल सम्झौता स्थगित गरेको छ । पाकिस्तानी कूटनीतिज्ञहरूलाई देशबाट निष्कासितसँगै पाकिस्तानी राहदानी भएका मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ ।
पाकिस्तानले पनि भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।
भारत र पाकिस्तान दुवै परमाणु अस्त्र सम्पन्न भएकाले यी दुई देशबीच तनाव चर्किँदा सबैतिर चासो र चिन्ता बढेको छ ।