२०८२ वैशाख १२, शुक्रवार , ११:५८:३१ बजे

Sajhamanch
'

भारत र पाकिस्तान बीचको सम्बन्ध कठिन अवस्थामा, भारतले सैन्य जवाफ दिन सक्ने

शुक्रवार, वैशाख १२, २०८२

झापा । भारतको जम्मू–कश्मीरमा रहेको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध कठिन अवस्थामा पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको आरोप लगाउँदै प्रतिशोधात्मक कदम चाल्न शुरू गरेको छ ।

भारतले हिजोदेखि नै पाकिस्तानसँगको सीमामा रहेको मुख्य नाका बन्द गरेको छ । यस्तै पानी बाँडफाँटको सिन्धु जल सम्झौता स्थगित गरेको छ ।

पाकिस्तानी कूटनीतिज्ञहरूलाई देशबाट निष्कासितसँगै पाकिस्तानी राहदानी भएका मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ । तर पाकिस्तानले भने कश्मीरको घटनामा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

हिजो बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि प्रधानमन्त्री शहबाज शरीफको कार्यालयबाट जारी विज्ञप्तीमा विश्वसनीय अनुसन्धान र प्रमाणित तथ्यविना पहलगाम आक्रमणमा पाकिस्तानलाई जोड्ने प्रयास गरेको उल्लेख छ ।

पाकिस्तानले पनि भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।

भारत र पाकिस्तान दुवै परमाणु अस्त्र सम्पन्न भएकाले यी दुईबीच तनाव चर्किँदा सबैतिर चासो र चिन्ता बढेको छ ।

सम्बन्धित खबर