
झापा । चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । चिनियाँ अन्तरिक्षयात्रीहरू अन्तरिक्ष स्टेशनका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा छन् ।
चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान उत्तर–पश्चिम गान्सु जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएसएमए) ले जानकारी दिएको छ ।
‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्षयान शृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित हुनेछ ।
शेन्जोउ मिशन अन्तरिक्षयात्री र वैज्ञानिक उपकरणलाई अन्तरिक्ष स्टेशनमा पठाउने तथा फर्काउने कार्यमा प्रयोग गरिन्छ ।
‘शेन्जोउ–२०’ को प्रक्षेपणका लागि लङ मार्च–२ एफ नामक रकेट प्रयोग गरिने सीएसएमएका प्रवक्ता लिन सीछ्याङलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
‘शेन्जोउ–२०’ का चालक दल आउँदो अक्टोबर महिनाको अन्त्यतिर उत्तर चीनको डोङफेङ अवतरणस्थलमा फर्कने तालिका छ ।
आज चीनको दशौं ‘अन्तरिक्ष दिवस’ पनि हो । चीनले सन् २०१६ देखि अप्रिल २४ तारिखलाई आफ्नो पहिलो उपग्रह ‘दोंगफाङहोङ–१’ को सफल प्रक्षेपणको सम्झनामा अन्तरिक्ष दिवसका रूपमा मनाउँदै आएको छ । चीनले पछिल्ला वर्ष आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बौं डलर लगानी गरेको छ ।