
झापा । कश्मीरको पहलगाममा हिजो भएको आतङ्कवादी आक्रमणपछि भारतभर सुरक्षा सतर्कता उच्च पारिएको छ ।
आक्रमण भएको क्षेत्रसहित जम्मू–कश्मीर, राजधानी शहर नयाँ दिल्ली, मुम्बईसहितका क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । विशेषगरी दिल्लीका पर्यटकीय क्षेत्र र शहरको सिमानामा कडा जाँच र निगरानी भइरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई दिने साउदी अरबको भ्रमण छोट्याएर बिहान स्वदेश फर्किनुभएको छ । उनी हिजो साउदी प्रस्थान गरेका थिए।
पहलगाममा हिजो दिउँसो पर्यटकलाई लक्षित गरी आक्रमण भएको हो । घटनामा कम्तीमा २६ जना मारिएका छन् । तीमध्ये एक जना नेपाली रुपन्देहीको बुटवलका सुदीप न्यौपाने रहेका छन् ।
प्रहरीले गोली लागेका कैयौं पर्यटकलाई अस्पताल लगिएको बताएको छ । भारतीय प्रधानमन्त्री मोदीले यो आतङ्कवादी आक्रमणमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने चेतावनी दिएका छन् । आक्रमणमा संलग्नको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली सङ्घकी प्रमुख उर्जुला भान देर लेयनलागयतका विश्व नेताहरूले घटनाको भर्त्सना गरेका छन् ।