२०८२ वैशाख २, मङ्गलवार , ०४:१९:२७ बजे

Sajhamanch
'

विद्यालय जान प्रतिबन्धपछि अफगानी बालिकाहरू गलैँचा बुन्ने काम गर्न बाध्य

मङ्गलवार, वैशाख २, २०८२

झापा । विद्यालय जान प्रतिबन्धपछि अफगानी बालिकाहरू कम तलब हुने गलैँचा बुन्ने काम गर्न बाध्य भएका छन् ।

तालिबान सरकारले महिला र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएपछि उनीहरू काबुलमा रहेको गलैँचा बनाउने कार्यशालामा काम गरिरहेका बीबीसीले जनाएको छ ।

गलैँचा बनाउने काम गर्नेहरूमा १९ वर्षीया सालेह हसनी पनि छीन । आफूहरूलाई विद्यालय जान नदिइएकोले गलैँचा बनाउने कार्यशालामा आउनुपरेको उनले सुनाएकी खबरमा उल्लेख छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि १२ वर्षभन्दा माथिका बालिकाहरूलाई शिक्षा प्राप्त गर्नबाट र महिलाहरूलाई धेरै जागिरबाट प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा कर्मचारीको सङ्ख्यामा महिलाहरूको उपस्थिति केवल १९ प्रतिशत रहेकोमा तालिबान शासनकालमा यो सङ्ख्या अझ घटेको छ ।

अवसरको अभाव, देशले सामना गरिरहेको नाजुक आर्थिक अवस्थाले गर्दा धेरै गलैँचा बुन्ने काममा लागेका हुन् । तालिबान सरकारले महिलाहरूलाई काम गर्न अनुमति दिने केही पेशाहरूमध्ये यो एक हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार झन्डै १२ लाखदेखि १५ लाख अफगानीको जीविकोपार्जन गलैँचा बुन्ने उद्योगमा निर्भर छ । यो उद्योगमा काम गर्नेहरूमा झन्डै ९० प्रतिशत हिस्सा महिलाहरूको छ ।

तालिबानले इस्लामिक मूल्य मान्यताहरूसँग पाठ्यक्रम मिलाउनेजस्ता आफ्ना चिन्ताहरू समाधान भएपछि बालिकाहरूलाई विद्यालय फर्कन अनुमति दिने बारम्बार बताउँदै आएको छ । तर अहिलेसम्म यसमा प्रगति भएको छैन ।

सम्बन्धित खबर