
झापा । अमेरिकाले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय कोष बन्द गरेका हुन ।
राष्ट्रपति ट्रम्पले विश्वविद्यालयले आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि आर्थिक सहयोगमा रोक लगाएका बीबीसीले जनाएको छ । भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तनलगायत माग राख्दै गएको हप्ता ह्वाइट हाउस प्रशासनले विश्वविद्यालयलाई पत्र लेखेको थियो ।
पत्रमा सरकारसँग आर्थिक सहकार्य गर्नका लागि १० विषयमा परिवर्तन गर्नुपर्ने उल्लेख रहेको बीबीसीले जनाएको छ । तर विश्वविद्यालयले राज्यले अनावश्यक नियन्त्रण गर्न खोजेको भन्दै यो मागलाई अस्वीकार गरेको थियो ।
ट्रम्प प्रशासनको दबावमा परेर आफ्नो नीति परिवर्तन नगर्नेमा हार्वर्ड विश्वविद्यालय अमेरिकाको पहिलो विश्वविद्यालय बनेको छ । विश्वविद्यालयका अध्यक्ष एलन गार्वरले आफ्नो नीतिमा कसैसँग सम्झौता नगर्ने भन्दै विज्ञप्ति निकालेका छन् ।