
झापा । सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा ४०० भन्दा धेरै मानिसको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो । पछिल्लो समय आरएसएफले सुडानमा आक्रमण तीव्र बनाएको बीबीसीले जनाएको छ ।
यसअघि गएको हप्ता आरएसएफले अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण पनि गरेको थियो । आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम बढ्दो छ ।
सुडानमा डार्फर क्षेत्र नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ । २०२३ अप्रिलदेखि यी दुईबीच शक्तिको लागि ठूलो युद्ध भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।