२०८२ वैशाख ६, शनिवार , ०२:४५:०६ बजे

Sajhamanch
'

इजरायलले गरेको आक्रमणमा परेर गाजामा २९ जनाको ज्यान गयो

बिहिवार, चैत २८, २०८१

झापा । इजरायली हवाई आक्रमणमा गाजाको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमणमा ५० जनाभन्दा धेरै मानिस घाइते भएका गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताए।

इजरायलले नागरिकका घरलाई लक्षित गर्दै आक्रमण गरेपछि त्यस क्षेत्र पुरै नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

योसँगै गएको २४ घण्टामा अस्पतालमा ३६ वटा शव ल्याइएका गाजा स्वास्थ्य अधिकारीले बताएका छन् । यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् ।

यो सङ्कट इजरायलले जारी राखेको नाकाबन्दीका कारण उत्पन्न भएको हो, जसले खाद्यान्न, मानवीय सहायता र चिकित्सा आपूर्ति गाजामा प्रवेश गर्न रोकिएको छ ।

गाजामा रहेको स्वास्थ्य अधिकारीहरूले नाकाबन्दीले अत्यावश्यक पोषण र स्वास्थ्य सेवामा गम्भीर प्रतिबन्ध लगाएको बताएका छन्, जसले गाजा क्षेत्रमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई थप सङ्कटमा पारिरहेको छ ।

कुपोषणका कारण शारीरिक र मानसिक विकासमा समस्या आउन सक्ने र उनीहरूको रोग प्रतिरोधक क्षमता कमजोर पार्ने सम्भावना बढेको छ ।

संयुक्त राष्ट्र सङ्घको मानवतावादी सहायता समन्वय कार्यालयले २ मार्चदेखि गाजा जाने सबै सीमा नाकाहरू बन्द रहेका जनाएका छन्, जसले मानवीय र व्यापारिक ढुवानीलाई प्रभावित गरेको छ ।

सम्बन्धित खबर