
झापा । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको ज्यान गएको छ । राजधानी बेइजिङबाट झन्डै १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा आगलागी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आगलागीपछि नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ । अधिकारीहरूले नर्सिङ होमका मालिकलाई पक्राउ गरेका खबरमा उल्लेख छ ।
चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति लापर्बाही दृष्टिकोणका कारण आगलागीका घटना भइरहन्छन् ।
गएको जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ शहरको एक तरकारी बजारमा भएको आगलागीमा ८ जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए । त्यसको एक महिनाअघि पूर्वी चीनको रोङचेङ शहरमा एक निर्माणस्थलमा भएको आगलागीमा नौ जनाको ज्यान गएको थियो ।