
झापा । वैज्ञानिकहरूले झन्डै १० हजार वर्षअघि पृथ्वीबाट लोप भइसकेको प्रजातिको ब्वाँसो डायर उल्फलाई पुनर्जन्म दिएको दाबी गरेका छन् ।
अमेरिकाको टेक्सासमा रहेको कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरूले जेनेटिक सम्पादनको प्रयोग गरेर डायर उल्फको तीन वटा बच्चा उत्पादन गरेको जानकारी गराएका हुन् ।
वैज्ञानिकहरूले ११ हजार ५०० वर्ष पुरानो जीवावशेषमा पाइएको प्राचीन डीएनएबाट डायर उल्फको जीनबारे जानकारी लिएका हुन् । त्यसपछि डायर उल्फको सबैभन्दा नजिकको जीवित नातेदार खैरो ब्वाँसोको जीन परिवर्तन गरेको उनीहरूले बताएका छन् ।
सरोगेट मदरका रूपमा घरपालुवा कुकुरलाई प्रयोग गरिएको छ । तीन वटा छाउराछाउरीमध्ये रोमुलुस र रेमस नाम गरेका दुई छाउरा ६ महिनाका भएका र खालिसी नामको छाउरी २ महिनाको भएको पनि जानकारी गराएका अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
६ महिनाको उमेरमै दुई छाउराको लम्बाइ ४ फिट र तौल ३६ किलो रहेको छ । १० हजार वर्ष अघिसम्म अमेरिकी महादेशमा पाइने यो ब्वाँसो अमेरिकामा पाइने कुकुर वर्गका अरू जनावरभन्दा ठूला हुन्छन् । गेम अफ थ्रोन्सको काल्पनिक भूमिकाले यो प्रजातिको ब्वाँसोलाई चर्चित बनाएको थियो ।
विश्व इतिहासमा वैज्ञानिकहरूले कुनै पनि लोप भइसकेको प्रजातिलाई पुनः फिर्ता ल्याएको यो पहिलो पटक हो । तर स्वतन्त्र विज्ञहरूले यी नयाँ उत्पादन लोप भइसकेका भयानक ब्वाँसो नभई खैरो ब्वाँसाका परिमार्जित रूपमा रहेको बीबीसीले जनाएको छ ।