
काठमाडौं । हिजो एकैदिन देशका ५२ ठाउँमा डढेलो लागेको छ । चितवनमा मात्रै १० ठाउँमा डढेलो लागेको नेपाल फरेस्ट फायर म्यानेजमेन्टको तथ्याङ्क छ ।
पछिल्ला हप्ताहरुमा डढेलो तीव्र रुपमा फैलिरहेको छ । वन तथा भूसंरक्षण विभागको डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अप्रिल महिना शुरू भएयताको एक हप्तामा मात्रै देशका ६२ जिल्लाका ८८५ ठाउँमा डढेलो लागेको छ ।
सन् २०२४ नेपालमा धेरै डढेलो लाग्ने वर्ष बनेको थियो । तर यो वर्ष त्यो भन्दा पनि बढेको छ । गएको वर्ष जनवरी १ तारिखदेखि अप्रिल ७ तारिखसम्म एक हजार ४० ठाउँमा डढेलो लागेकोमा यो वर्ष त्यही अवधिमा एक हजार ८४२ ठाउँमा डढेलो लागेको छ ।
यसले गएको वर्षका तुलनामा यस वर्ष ७७ प्रतिशत बढी ठाउँमा डढेलो लागेको देखाउँछ । सामान्यतया धेरै डढेलो लागेको अर्को वर्ष वनमा इन्धन कम हुने भएकोले डढेलो कम लाग्नुपर्नेमा हरेक वर्ष बढ्नु चिन्ताजनक अवस्था रहेको डढेलो विज्ञ कृष्ण भुजेल बताउछन् ।
यस वर्ष पनि हिउँद सुक्खा भएको र प्रिमनसुन अवधिमा पनि पानी नपर्दा सुक्खा बढेर डढेलो बढ्न मद्दत पुगेको वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनन्जय लामिछानेले बताए।
सरकारले डढेलो लाग्न नदिने काम गर्न उदासिनता देखाएको छ भने निभाउनका लागि उपकरण नै नभएको वन तथा वातारण मन्त्री ऐनबहादुर शाही ठकुरीले सार्वजनिक कार्यक्रममै बताएका छन् । सरकार डढेलो निभ्न पानी पर्नु पर्ने आशामा छ ।
बसाइँ–सराइ तथा जग्गा बाँझो हुने क्रमले गर्दा वनमा सुकेका काठपात थुप्रने क्रम बढेको छ । इन्धन बढी हुँदा डढेलो फैलने क्रम बढेको छ । यस्तै मिचाहा प्रजातिका वनस्पतीको फैलावटले पनि डढेलो बढाउन भूमिका खेलेको छ ।
नेपालमा हुने डढेलोको ९७ प्रतिशत भन्दा धेरै मानवीय कारणबाट हुने गरेको छ । तर सरकारले यसलाई रोक्न सकेको छैन । डढेलोले हावामा प्रदूषण बढाएर निसासिने अवस्था आएको छ भने जङ्गलमा जैविक विविधता पनि नष्ट भइरहेको छ ।