२०८१ चैत १८, सोमवार , ०९:४५:५६ बजे

Sajhamanch
'

चलचित्र अञ्जिला १६ देशमा शनिवार रिलिज हुने

बिहिवार, चैत १४, २०८१

काठमाडौँ । गत साता नेपालमा रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले घरेलु बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ ।

६ महिना अघि रिलिज भएको नेपाली चलचित्र पूर्णबहादुरको सारंगीपछि सबै दोश्रो राम्रो व्यापार गर्ने चलचित्रको रेकर्ड यति बेला अञ्जिलाले बनाईरहेको छ ।

नेपालमा व्यावसायिक रूपमा सफल भएपछि यो चलचित्र अब विदेशमा एकसाथ रिलिज हुने भएको छ । राष्ट्रिय महिला फुटबल खेलाडी गालकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनीमा यो चलचित्र आधारित रहेको छ ।

उनी आफैँले यो चलचित्रमा मुख्य भूमिका निभाएकी छिन् । यो चलचित्र विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने तयारी पुरा भएको यसका निर्माण पक्षले जनाएको छ ।

यस वर्षको फागु पूर्णिमाको दिन २९ फागुनबाट नेपालमा प्रदर्शन भएको यो चलचित्रले नेपालमा व्यावसायिक सफलता हासिल गरेपछि नेपालीहरूको बाहुल्य रहेका विभिन्न मुलुकहरूमा रिलिज हुन लागेको यसका निर्देशक मिलन चान्सले राजधानीलाई बताए ।

यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुनेछ ।

अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्नेछन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दै छन् ।

त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले यो चलचित्र रिलिज गर्दै छन् ।

आफ्नो चलचित्र अस्ट्रेलियामा समेत रिलिज गर्ने तयारी अन्तिम चरणमा रहेको पनि निर्माता प्रेम कुमार श्रेष्ठले बताए । बेलायतमा यस चलचित्रको उच्च माग रहेको त्यहाँका सबै सहरका चलचित्र घरमा रिलिज गरिने पनि उनले बताए ।यो चलचित्रको विदेश रिलिज यही २९ मार्च शनिवारबाट हुने जनाइएको छ ।

यस चलचित्रमा कलाकार समेत रहेका निर्माता प्रेम कुमार श्रेष्ठ भने खेलाडी एन्जिलाका ‘गड फादर’ हुन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमा र मञ्जु श्रेष्ठले सौतेनी आमाको चरित्र निभाएका छन् ।

यसका अन्य कलाकारमा सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

अञ्जिलाका निर्देशक मिलन चान्सले दिनानु दिन यो चलचित्रको शो संख्या थपिएको र दर्शक पनि बढिरहेको राजधानीलाई बताए । चलचित्रको व्यापारबाट उत्साहित भएका निर्देशक मिलनले राजधानीसँग भने,‘यो माया र विश्वासले ऊर्जा थपेको छ र चलचित्र हेर्ने ८३ वर्षसम्म उमेरका आमा देखेको छु ।

उहाँहरूले चलचित्र हेरेर निस्किदा खुसी भएको देख्दा म साह्रै आभारी छु,’ दर्शक हलसम्म ल्याएर खुसी बनाएर पठाउन पाउँदाको क्षणलाई आफूले शब्दमा व्यक्त गर्न नसक्ने पनि उनले बताए ।

सम्बन्धित खबर