२०८१ चैत ५, मङ्गलवार , १०:१६:४१ बजे

Sajhamanch
'

स्ववियु निर्वाचन : झापाका १३ क्याम्पसमा ९ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा

मङ्गलवार, चैत ५, २०८१

झापा । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ । गौरादह कृषि क्याम्पसमा केही ढिलो मतदान हुने बुझिएको छ ।

जिल्लामा राजनीतिक दलनिकट र स्वतन्त्र गरी ९ विद्यार्थी समूहले निर्वाचनमा भाग लिएका छन् । झापामा अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा धेरै दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका हुन् । दमकपछि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा ७ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै जिल्लाको सबैभन्दा पुरानो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा ६ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । जिल्लाका १३ वटा क्याम्पसमा ३३२ जना उम्मेदवार प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरूले स्ववियु निर्वाचनमा भाग लिने भएका छन् ।

केही क्याम्पसमा सत्तारुढ दलनिकट नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले चुनावी गठबन्धन बनाएका छन् । गरामनी क्याम्पसमा जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेदवार बनेका छन् ।

कुल विद्यार्थीमध्ये आधा उम्मेदवार बनेका हुन् । नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन , नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघ र राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ पाँच जनाको उम्मेदवारी दिएका हुन् ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन् । निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी सङ्ख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ ।

स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।

यसअघि ५ चैत २०७९ मा ५० आंगिक र ३ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका थिए ।

सम्बन्धित खबर