२०८१ चैत ४, सोमवार , १०:०१:१८ बजे

Sajhamanch
'

आउँदो बिहीवारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

सोमवार, चैत ४, २०८१

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गते बिहीवारदेखि देशभर एकैसाथ शुरू हुने एसईईको सबै तयारी पूरा भएको जानकारी दिए। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ ।

यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् ।

यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । परीक्षा नियन्त्रक पौडेलले काठमाण्डौ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।

यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, त्यही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

सम्बन्धित खबर