
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मन्त्रालयमा सूचीकरण हुन आग्रह गरेका छन् ।
सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम मन्त्रालयमा सूचीकृत हुन आग्रह गरेका हुन् ।
यसअघि मन्त्रालयले सूचीकरणका लागि एक्स, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लाटफर्मलाई ताकेता गरेको थियो । मन्त्रालयको आह्वानपछि गत असोज १६ मा विटक, गत वर्षको फागुन २४ मा भाइबर र गत कात्तिक ८ मा टिकटक सूचीकृत भइसकेका छन् ।
मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए ।
‘हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लाटफर्मलाई सूचीकरण गर्न आग्रह गरेका छौ’ उनले भने, ‘फेरि अर्कोपटक आह्वान गर्छौँ, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।’