२०८१ फागुन २१, बुधवार , ०२:५०:३० बजे

Sajhamanch
'

अमेरिकाले कागजातविहीन १० नेपालीलाई चार्टर विमानमार्फत फर्काउँदै

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौँ । अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिइरहेको अमेरिकाले आधिकारिक कागजात नभएका १० जना नेपालीलाई बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम मार्फत ती १० जना नेपाल ल्याइने छन् । विमान बुधबार बिहान १० बजे अवतरण गर्ने तालिका छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने घोषणा गरिएको थियो ।

माघ ७ गते ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख तीर्थराज भट्टराईले ट्रम्पको कार्यकाल सुरु भएयता विमान नै चार्टर गरेर नेपालीलाई पठाइन लागेको पहिलो पटक भएको बताए ।

स्रोतका अनुसार यो विमान अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउन लागेको हो । उक्त विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई अवतरण गराएर सोझै नेपाल आउनेछ ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यसअघि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत ८ जना आधिकारिक कागजात नभएका नेपालीलाई पठाएको थियो ।

कान्तिपुरबाट

सम्बन्धित खबर