२०८१ फागुन २०, मङ्गलवार , ०९:५२:३१ बजे

Sajhamanch
'

केपी ओली कपको उपाधि मच्छिन्द्रलाई, सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र एफसीले उपाधि जितेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं मिनेटमा मच्छिन्द्रका स्टेफन जमाहा जालीको गोलमा मच्छिन्द्रले उपाधि जितेको हो । योसँगै मच्छिन्द्रले तीन पटक ओली कपमा उपाधि जितेर ह्याट्रिक गरेको छ ।

यो वर्ष चौथो फाइनल खेलेको मच्छिन्द्रले यसअघि इटहरी गोल्डकप जितेको थियो । यो सिजन चौथो प्रतियोगिता खेलेर पहिलो पटक फाइनलमा पुगे पनि आर्मीले उपाधि जित्न सकेन ।

यो प्रतियोगितामा मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० ले र सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले पराजित गरेको थियो ।

आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले र सेमिफाइनलमा सङ्कटालाई २–१ ले हराएको थियो । प्रतियोगिताको विजेता मच्छिन्द्रले १५ लाख ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलमा विश्वकप विजेता इटालियन पूर्व कप्तान एवम् गोलकिपर जियानलुइजी बुफोनको उपस्थिति रहेको थियो ।

यसैबीच मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनलाई १ लाख रुपैयाँ र मोटरसाइकल प्रदान गरिएको छ ।

सम्बन्धित खबर