
झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछ ।
भद्रपुरस्थित मेची रंगशालामा आज दिउँसो ३ बजे पहिलो सेमिफाइनल आयोजक भद्रपुर ब्लेजर्स र काउर्न बाजार प्रगति संघ बंगलादेशबीच भिडन्त हुनेछ । दुवै टिम फाइनल प्रवेशका खेल्नेछ ।
आयोजक भद्रपुरले प्रि क्वाटर फाइनलमा भारत दार्जिलिङ पुलिस फुटबल क्लबलाई ४ १ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । त्यसपछि भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै काउर्न बाजार बंगलादेश सोजै क्वाटर फाइनल खेल्दै न्यु रोड टिम (एनआरटी) ललितपुरलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।
एक जना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटेलका तर्फबाट दिन एक जना दर्शकले दुई जनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुई वटा चाँदीको सिक्का पाउने गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।