
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापना गर्न दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो औंल्याएका छन् ।
दक्ष प्राविधिक उत्पादन गर्न सके स्वदेशमै स्वरोजगारी सिर्जना गरी आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३७औं वार्षिकोत्सवमा सोमबार भक्तपुर आयोजित कार्यक्रममा मन्त्री दाहालले सिपयुक्त शिक्षा र प्रविधि हस्तान्तरण मार्फत दक्ष प्राविधिक उत्पादनमा जोड दिए ।
उच्च शिक्षा हासिल गरेका युवासमेत रोजगारीका लागि विदेश गइरहेको उल्लेख गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यावसायिक र प्राविधिक शिक्षा प्रदान गर्न सके यो क्रम न्यूनीकरण हुने बताए ।
सीटीईभीटीले देशका विभिन्न ग्रामीण क्षेत्रसम्म पुगेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्नु सह्रानीय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्ति स्वदेशमै आत्मनिर्भर र व्यावसायिक बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
परिषद्का विभिन्न शिक्षालयका विद्यार्थीले प्रयोगात्मक सिपमार्फत निर्माण गरेका सामग्री, उपकरणका स्टल समेत उनले अवलोकन गरे ।
कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अवकासप्राप्त कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । मन्त्री दाहालले परिषद् मार्फत प्रकाशित ‘जर्नल’ सार्वजनिक गरे ।
परिषद् सदस्यसचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताले परिषद्का लागि समयानुकूल कानुन निर्माण गर्न मन्त्री एवं सरकारको ध्यानाकर्षण गराएका थिए ।