२०८१ फागुन १०, शनिवार , १२:४८:४० बजे

Sajhamanch
'

झापा जिल्ला सहकारी संघको निर्वाचन अनिश्चित ?

शुक्रवार, फागुन ९, २०८१
  • गोपाल काफ्ले

झापा । झापा जिल्ला सहकारी सङ्घको नेतृत्व चयनका लागि गर्ने भनिएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि दुईपटक तय गरिएको निर्वाचन कार्यतालिका सञ्चालक समितिले आज फेरि स्थगन गरेको हो ।

आठौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न गठित निर्वाचन समितिले प्रकाशन गरेको दोस्रो तालिका अनुसार आज फागुन ९ गते मतदाता नामावली प्रकाशन हुनुपथ्र्यो । तर कार्यान्वयन हुने सकेन ।

सङ्घका व्यवस्थापक सञ्जु देवानले आज अपरान्ह एउटा सूचना प्रकाशन गरेर आजदेखि निर्धारित निर्वाचन कार्यक्रम सञ्चालक समितिको निर्णयले स्थगित भएको जनाएकी हुन् ।

गत पुष २२ गते प्रकाशन गरिएको निर्वाचन कार्यतालिका अनुसार माघ २० गते मतदाता नामावली प्रकाशन, माघ २५ गते उम्मेदवारी मनोनयन दर्ता र फागुन ३ गते मतदानको कार्यक्रम बनाइएको थियो ।

तर निर्वाचन समितिले माघ २० गते मतदाता नामावली प्रकाशन गर्न सकेन भने सो पछिका सबै कार्यक्रमहरू अगाडि बढेनन् ।

फेरि माघ २३ गते निर्वाचन समितिले अर्को सूचना प्रकाशन गरेर आज फागुन ९ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको थियो । तर आज संघका व्यवस्थापक देवानको हस्ताक्षरमा प्रकाशित सूचनाले निर्वाचन नै अनिश्चित बनेको छ ।

सङ्घको कार्यालय स्रोतका अनुसार झापा जिल्ला सहकारी सङ्घमा ४९० प्रारम्भिक सहकारी संस्था र विषयगत संघहरूको सदस्यता रहेको छ। तर आजसम्म संघमा आबद्ध सदस्यमध्ये ३१० वटा संघ–संस्था ६३ प्रतिशतले सदस्यता नवीकरण गरेका छन् ।

संघले उपलब्ध गराएको विवरण अनुसार मतदाता बन्न योग्य हुनका लागि संघले तोकेको सेवा शुल्क, सेयर रकम र बचत रकम पूरा गरेको हुनुपर्छ । ती मापदण्डहरु पूरा नगरेका प्रारम्भिक संस्था र विषयगत संघहरु मतदाता बन्न नसक्ने प्रावधान छ ।

सदस्यता नविकरणमा ढिलाइका कारण नै निर्वाचनको कार्यतालिका पटकपटक फेरबदल हुने अवस्था आएको संघको कार्यालय स्रोतको दावी छ ।

तर करिव ५० वटा निस्क्रिय संस्थाहरुको विगत लामो समयदेखि नविकरण नै हुने नगरेकोले आजसम्म नविकृत संस्थाहरु ६३ प्रतिशत हुँदा पनि निर्वाचन रोक्नुपर्ने कुनै कारण नभएको एक सञ्चालकले टिप्पणी गरेका छन् ।

संघको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेमकुमार कोइरालालाई तयारी गर्न संकेत मिलिसकेकोले ‘मूल नेतृत्व विवाद’ निर्वाचन सर्नुपर्ने कारण नै नभएको ती सञ्चालकको दावी छ ।

जिल्ला सहकारी संघले निर्वाचन स्थगित भएको जनाउन आज जारी गरेको सूचना फेसबुक पेजमा पनि राखिएकोले सो पोष्टमा प्रारम्भिक संस्थाका सञ्चालक र कर्मचारीहरुको टिप्पणीले संघको गरीमामाथि नै आँच पुग्ने देखाउँछ ।

यसरी पटक पटक निर्वाचन कार्यक्रम रद्ध गर्नु र पर धकेल्दै अनिश्चित बनाउनुले सदस्य संस्थाहरुलाई के सिकाइँदैछ भनी प्रश्न पनि उठाइएको छ ।

यही विषयमा प्रष्ट जानकारी लिन जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालसँग फोन सम्पर्क गर्ने पटक पटकको प्रयास सार्थक हुन सकेन । उनले प्रयोग गर्ने ९८५२६७००७३ नम्बरको मोवाइल दिनभर नै स्वीच अफ पाइयो ।

सम्बन्धित खबर