
काठमाडौं । सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ ।
आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरू बीच सहमति जुटेको गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं,’ बैठकपछि गृहमन्त्री लेखकले बताए ।
उनका अनुसार बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको छ । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्ने चाहिँ खुलाएनन् ।
‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ,’ गृहमन्त्री लेखकले भने, ‘बहुमत पुग्छ, पुग्नेगरी छलफल भएको छ ।’