![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Supreme-Court-Nepal1621870995.jpg)
काठमाडौँ । सर्वोच्च अदालतको आदेशविपरीत करिब ३ दर्जन पालिकाले आज फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिएका छन् । कतिपय पालिकाले २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन वडा तहसम्म विभिन्न कार्यक्रम गर्दैछन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०७९ मा हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउनका लागि सार्वजनिक बिदा दिने पहिलोपटक औपचारिक निर्णय गरेको थियो । त्यो वर्ष सरकारको निर्णयअनुसार सार्वजनिक बिदा दिइए पनि २०८० देखि भने त्यसलाई सर्वोच्चले रोक लगाएको थियो ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध द्वन्द्वपीडितका तर्फबाट अदालतमा परेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय संविधानको भावनाविपरीत रहेको ठहर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले गत वर्ष पुस १३ मा सार्वजनिक बिदा खारेज गरिदिएको हो ।
सर्वोच्चको आदेशपछि संघ सरकारले बिदा नदिए पनि केही स्थानीय तहले गत वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ को बिदा दिएका थिए । यो वर्ष पनि माओवादीले चुनाव जितेका पालिकामा बिदा घोषणा गरिएको छ । बिदाका लागि ती पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएका छन् ।
माओवादी सशस्त्र विद्रोहको आधार इलाका मानिएको रोल्पाका १० मध्ये माओवादीले जितेका ७ स्थानीय तहमा सार्वजनिक बिदा घोषणा गरिएको छ । रोल्पा नगरपालिकासहित सुनिल स्मृति, लुङ्री, माडी, सुनछहरी, थबाङ र परिवर्तन गाउँपालिकामा ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिइएको हो ।
रोल्पाका त्रिवेणी, रुन्टीगढी र गंगादेव गाउँपालिकामा भने बिदा दिइएको छैन । त्रिवेणीमा एमालेले तथा रुन्टीगढी र गंगादेवमा कांग्रेसले अध्यक्ष पद जितेको छ ।
सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले सांस्कृतिक, खेलकुद र अन्य कार्यक्रम आयोजना गरेर बिदा मनाउने निर्णय गत माघ ९ को कार्यपालिका बैठकले गरेको जानकारी दिए ।
उनका अनुसार सशस्त्र द्वन्द्वका बेला पालिकाभित्र राज्यपक्षले १८२ र तत्कालीन विद्रोही पक्षले २५ गरी २०७ जनाको ज्यान लिएका थिए । सुनछहरीमै पर्ने जेलबाङमा मात्रै राज्य र विद्रोही दुवै पक्षका कारण ७३ जनाको ज्यान गएको थियो ।
रुकुम पश्चिममा त्रिवेणी, सानीभेरी र बाफिकोट गाउँपालिका तथा चौरजहारी र आठबिसकोट नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । तीमध्ये बाफिकोट गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष छन् ।
‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिइएपछि पालिका अध्यक्ष जनककुमार बाठाको कांग्रेसभित्रै कडा विरोध भएको थियो । कांग्रेसनिकट विद्यार्थी नेता चन्द्रशेखर केसीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ र अन्तरिम आदेश जारी गरेको थियो ।
अन्तरिम आदेशपछि बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ हटाएर अर्को सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको उद्गम बिन्दु सशस्त्र संघर्ष सुरुवात भएको दिन १ फागुन २०८१ मा मेलगैरी सहिद स्मृति मेला र सोही दिन ९५ सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेकाले यस गाउँपालिकाअन्तर्गतका सबै सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने,’ सूचनामा भनिएको छ ।
त्रिवेणी गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को सट्टा ‘सशस्त्र संघर्ष’ सुरु भएको दिनको अवसरमा भनेर बिदाको सूचना जारी गरेको छ । सानीभेरी गाउँपालिकाले बिदा दिनुका साथै राष्ट्रियस्तरको ‘मौराखारा गुरिल्ला म्याराथन’ समेत आयोजना गरेको पालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिए ।
जुम्लाका सिँजा र तिला गाउँपालिकाले फागुन १ लाई सार्वजनिक बिदा घोषणा गरेका छन् । कालिकोटका रास्कोट नगरपालिका, शुभकालिका, महावै र सान्नी त्रिवेणी गाउँपालिकाले सांस्कृतिक कार्यक्रम आयोजना गरेर ‘जनयुद्ध दिवस’ मनाउने भन्दै बिदा दिएका छन् ।
हुम्लाको मुड्केचुला गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । दाङको बंगलाचुली गाउँपालिका, बर्दियाको राजापुर नगरपालिका र बाँकेको खजुरा गाउँपालिकामा पनि बिहीबार सार्वजनिक बिदा छ ।
अध्यक्ष कांग्रेसले जितेको अछामको रामारोशन गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । कार्यपालिकामा माओवादीको बहुमत रहेका कारण उक्त पालिकामा सार्वजनिक बिदाको निर्णय गरिएको हो ।
धादिङको गजुरी गाउँपालिकामा भने अध्यक्ष गणेशलाल श्रेष्ठले सार्वजनिक बिदा भन्दै सूचना प्रकाशन गरेका थिए । तर उपाध्यक्ष शर्मिला बिसुरालले त्यसको खण्डन गर्ने अर्को सूचना जारी गरेकी छन् । कार्यपालिका बैठकबाट निर्णय नभएकाले फागुन १ मा सार्वजनिक बिदा नरहेको उनको भनाइ छ ।
मकवानपुरको बागमती गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिकाले पनि बिहीबार सार्वजनिक बिदा छ । गोरखाकै सहिद लखन गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापा मगर र उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८औं स्मृति दिवसको अवसर भनेर फागुन १ र २ मा सार्वजनिक बिदा दिएको छ ।
काभ्रेको चौंरीदेउराली गाउँपालिकाले पनि बिदा घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंद्वारा जारी सूचनामा ‘जनयुद्ध दिवस’का अवसरमा बिदा दिने निर्णय भएको बताइएको छ ।
खोटाङमा जन्तेढुंगा र खोटेहाङ गाउँपालिका, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका र भोजपुरको रामप्रसाद राई गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’ को बिदा दिएका छन् ।
कान्तिपुरबाट